काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको संविधानसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फको मनोनयन दर्ता जारी छ । बिहान १० बजेदेखि जिल्ला सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दाखिला गर्न सुरु भएको हो ।
एमाले उपाध्यक्ष वामदेव गौतमले प्युठान १, एमाओवादी नेता डा. बाबुराम भट्टराई रुपन्देही ४ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर १ वाट मनोनयन दर्ता गरिसकेका छन् ।
एमाओवादी नेता डा. बाबुराम भट्टराईले लुम्बिनीको विकासका लागि आफूले रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएको बताएका छन् । बाजागाजासहितको जुलुसको नेतृत्व गरी आज रुपन्देही जिल्ला निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि उनले लुम्बिनीको विकास आफ्नो प्राथमिकता भएको बताए ।
एमाले सचिव विष्णु पौडेलले पनि बाबुराम भट्टराई उठेको रुपन्देहीको क्षेत्र नम्बर ४ बाटै उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि पौडेलले बाबुराम भट्टराई उठेको क्षेत्र छाडेर नवलपरासी ३ बाट उम्मेदवारी दर्ता गर्न खोजेकामा कार्यकर्ताको चर्को दबाबपछि नवलपरासीको उम्मेद्वारी फिर्ता लिएका थिए ।
देशका २ सय ४० वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुले आज दिनभरमा मनोनयन दर्ता गर्दैछन् । चुनावी सुरक्षासहितको बन्दोबस्त गरिएको निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवार बन्न चाहनेहरुले तीन हजार रुपैयाँ धरौटीसहित उम्मेदवारी दर्ता गर्नुपर्छ । दुर्गम क्षेत्रमा हवाई उडान हुन नसकेको र अन्य प्राविधिक कारण दलको टिकट पुग्न नसकेको अवस्थामा फ्याक्सबाट प्राप्त टिकटलाई आधार मानी अस्थायी दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।
एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले सबै क्षेत्रका लागि उम्मेदवारहरुलाई मनोनयन पत्र दिएका छन् । जिल्ला निर्वाचन कार्यालयहरुले आश्विन १८ गते मनोनयन दर्ताको सुची प्रकाशित गर्ने छन् भने १९ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने दिन तोकिएको छ ।
त्यस्तै आश्विन २० गते उम्मेदवारीमाथि परेको उजुरीको जाँचबुझ गरिने छ भने २१ गते उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
त्यसैगरी आश्विन २२ गते उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ भने २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
त्यस्तै दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची भोलि निर्वाचन आयोगमा पेश गर्नु पर्नेछ । प्रत्यक्षतर्फ उम्मेदवार भएका व्यक्ति समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार बन्न पाउँदैनन् ।
निर्वाचन आयोगले निर्वाचनमा सहभागी हुने सबै दलहरुलाई समानुपातिक र प्रत्यक्षतर्फको कुल उम्मेदवारको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न आह्वान गरेको छ ।
स्रोत: नेपाली संचारमाध्यम
काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको संविधानसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फको मनोनयन दर्ता जारी छ । देशका २ सय ४० वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुले आज दिनभरमा मनोनयन दर्ता गर्नुपर्ने छ । जिल्ला सदरमुकाममा खोलिएका मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने छन् । चुनावी सुरक्षासहितको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवार बन्न चाहनेहरुले तीन हजार रुपैयाँ धरौटीसहित उम्मेदवारी दर्ता गर्नुपर्छ । प्रमुख दलहरुले अधिकांश क्षेत्रका उम्मेदवारहरुलाई पत्र दिएर पठाईसकेका छन् । दुर्गम क्षेत्रमा हवाई उडान हुन नसकेका र अन्य प्राविधिक कारण दलको टिकट पुग्न नसकेको अवस्थामा फ्याक्सबाट प्राप्त टिकटलाई आधार मानी अस्थायी दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।
एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले सबै क्षेत्रका लागि उम्मेदवारहरुलाई मनोनयन पत्र दिईसकेका छन् । यस्तै राप्रपा नेपाल, राप्रपा र मधेशी तथा साना दलहरुले पनि उम्मेदवारहरुलाई जिल्ला जिल्लामा पठाईसकेका छन् । जिल्ला निर्वाचन कार्यालयहरुले असोज १८ गते मनोनयन दर्ताको सूचि प्रकाशित गर्ने छन् भने १९ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने दिन तोकिएको छ । यस्तै असोज २० गते उम्मेदवारीमाथि परेको उजुरीको जाँचबुझ गरिने छ भने २१ गते उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
यसैगरी असोज २२ गते उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ भने २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । यस्तै दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची असोज १८ गते भोलि निर्वाचन आयोगमा पेश गर्नु पर्नेछ । प्रत्यक्षतर्फ उम्मेदवार भएको व्यक्ति समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार बन्न पाउँदैन ।
निर्वाचन आयोगले हिजो सूचना प्रकाशित गरी निर्वाचनमा सहभागी हुने सबै दलहरुलाई समानुपातिक र प्रत्यक्षतर्फको कुल उम्मेदवारको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न आह्वान गरेको छ । निर्वाचन कानुनले समानुपातिक प्रणालीमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ भने समग्रमा महिला उम्मेदवार ३३ प्रतिशत पुग्नुपर्छ ।
स्रोत: नेपाली संचारमाध्यम