– शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । राजनीति दलहरुले मंसीर ४ गते हुने संविधान सभाको निर्वाचन आफ्नो पक्षमा पार्ने भन्दै जुलुस सहित निर्वाचन कार्यालयमा जाँदै गर्दा नेकपा-माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले अर्घाखाँचीको चुत्राबेशी घाटमा ४ दलका शीर्ष नेताहरुको पुत्ला दहन गरेको छ ।
वैदेशिक शक्ति केन्द्रको निर्देशनमा ४ दलले आफुलाई पाखा लगाई जवरजस्ती निर्वाचन गर्न लागेको भन्दै मोर्चाले पुत्ला दहन गरेको हो ।
पुत्ला दहनपछि आयोजित कोणसभामा नेकपा माओवादीका जिल्ला सेक्रेटेरी बावुराम घिमिरे भुवन, राज्य समिति सदस्य कृष्णहरि भुसाल, नेकपा क्रान्तिकारीका जिल्ला ईन्चार्ज शिव अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो ।
२ सीटका लागि २१ उम्मेदवार
मंसीर ४ गते हुने संविधान सभाको निर्वाचनको लागि अर्घाखाँची जिल्लामा प्रत्यक्षतर्फ २१ जनाले उम्मेदवारी दिएका छन् । २ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं. १ मा ८ र क्षेत्र नं. २ मा १४ जनाले उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी दर्ताको लागि आज दिउँसो एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरु तामझाम सहित जुलुस लिएर निर्वाचन कार्यालयमा गएका थिए ।
उम्मेदवारहरुमध्ये विभिन्न पार्टीका गरी ४ जना नेता केन्द्रीय स्तरका छन्, भने अन्य उम्मेदवारमा जिल्ला स्तरीय नेताहरु परेका छन् । निर्वाचन क्षेत्र नं. १ मा एकिकृत नेकपा माओवादीका नेता तथा पुर्व मन्त्री टोप बहादुर रायमाझि, नेपाली कांग्रेसका महासमिति सदस्य तथा राष्ट्रिय पञ्चायतका पुर्व सदस्य डा. राम बहादुर बि.सी., नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य नरेन्द्र कुमार क्षत्री, राष्ट्रिय जनमोर्चाका महासचिव सन्त बहादुर नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष अम्मर बहादुर थापा, राप्रपा नेपालका अध्यक्ष वीरेन्द्र सेन, राष्ट्रिय जनमुक्ति पार्टीका मधु बहादुर सारु र जनयुनिटि कोपरेटिभ पार्टी नेपालका प्रेम बहादुर खड्का गरी ८ दलका नेताह्रुले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यसैगरी क्षेत्र नं.२ मा १२ वटा राजनीतिक दल र दुई स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिनेहरुमा एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य बिष्णु प्रसाद आचार्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसभाषद् पुष्पा भुसाल, नेकपा एमाले केन्द्रीय बुद्धिजीवि विभागका सदस्य डा.दुमान सिंह थापा, राष्ट्रिय जनमोर्चा का पश्चिमाञ्चल उपाध्यक्ष सेर बहादुर भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष देवि बहादुर खड्का, राप्रपा नेपालका सावित्रा चुँदाली, नेपाल परिवार दलका डिल्लीराज भुसाल, राष्ट्रिय जनमुक्ति पार्टीका ईन्द्र बहादुर गोलङ्ग, नेकपा मालेका ईन्द्र बहादुर रेश्मी मगर, नेमकिपाका रामचन्द्र श्रेष्ठ, संघीय समाजवादी पार्टी नेपालका नेत्र बहादुर थापा, जनयुनिटि कोपरेटिभ पार्टी नेपालका प्रेम बहादुर खड्का तथा स्वतन्त्र उम्मेदवार नारायण बहादुर बेल्वासे र भोजराज दमासे छन् ।
उम्मेदवारी दर्ता पछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै प्रमुख तीन दल एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेका नेताहरुले जिल्लाका दुवै क्षेत्रमा आफ्नो जीत सुनिश्चित भएको दावी गरेका छन् । अघिल्लो संविधान सभामा जस्तै यस पटक पनि नेताहरुले दावी गरे जस्तै मुख्य तीन दल बीचमै प्रतिस्पर्धा हुने देखिएको छ । चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि जिल्लामा रामै मत ल्याउने बुद्धिजिविहरुको भनाई छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।