चुनावको विरोधमा रहेका नेकपा-माओवादी लगायतका दलहरुबाट मनोनयनमा अवरोध आउन सक्ने आशंका गरिएको भएपनि मनोनयन दर्ता देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
मनोनयन दर्ताका क्रममा सबैतिर उल्लासमय वातावरण देखिएको थियो । २ सय ४० निर्वाचन क्षेत्रका लागि आज दर्ता गरिएका उम्मेदवारहरुको सूची निर्वाचन आयोगले भोलि १८ गते प्रकाशित गर्नेछ ।
निर्वाचन कार्यक्रम अनुसार आश्विन १९ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने दिन तोकिएको छ । त्यस्तै २० गते उम्मेदवारीमाथि परेको उजुरीको जाँचबुझ गरिने छ भने २१ गते उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
त्यसैगरी आश्विन २२ गते उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ भने २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
त्यस्तै दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची भोलि निर्वाचन आयोगमा पेश गर्नु पर्नेछ ।