डिवी बुढा, नागरिकन्युज
जुम्ला – नेकपा-माओवादी जुम्लाले बिहानैदेखि गरेको बन्दले यहाँका सर्वसाधारणलाई सास्ती भएको छ। माओवादीले आकस्मिक रुपमा यातायात बन्द गराएपछि कामको लागि सदरमुकाम आइरहेका सर्वसाधारणलाई सास्ती भएको हो।
जुम्लाबाट चल्ने लामो तथा छोटो दुरीका बस चलेका छैनन्। जुम्ला बसपार्क सुनसान देखिएको छ। असन्न संविधानसभाको निर्वाचनको लागि मनोनयन दर्ता कार्यलाई प्रभावित पार्न बन्द आव्हान गरिएको जिल्ला इन्चार्ज नवराज न्यौपानेले जानकारी दिए।
मनोनयन दर्ताका लागि हजारौ कार्याकर्ता जिल्ला सदरमुकाममा उतार्ने देखेपछि त्यसलाई असफल तुल्याउन माओवादीले बन्द आव्हानको घोषणा गरेको जनाएको छ। अहिले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता भइरहेको छ भने जिल्ला परिषद हल जुम्ला माओवादीले कार्याकर्तालाई चुनावी रणनीतिका विषयमा प्रशिक्षण दिइरहेको छ। केहि बेरपछि माओवादीले राजनैतिक दलका शीर्ष नेता तथा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको पुत्ला दहन गर्ने जनाएको छ।