समानुपातिकतर्फको बन्द सूची दलहरुले बुझाए, निर्वाचन आयोगद्धारा संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची दलहरुले शुक्रबार बुझाएका छन् । साँझ ५ ३० बजेसम्ममा ५० दलले बन्द सूची बुझाएका छन् ।
बन्द सूची बुझाउन ठूला दलका दोस्रो तहका नेताहरु उपस्थित थिए भने साना दलका अध्यक्षसहितका नेताहरु पुगेका थिए । बन्द सूची बुझाउन एमाओवादी नेतृ हिसिला यमी, वर्षमान पुन, गिरिराजमणि पोखरेल कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले नेताहरु विष्णु पौडेल, विष्णु रिमाल, अग्नि खरेललगायतका नेता पुगेका थिए । 
त्यसैगरी संविधानसभाको निर्वाचनका लागि हिजो मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूचि निर्वाचन कार्यालहरुले आज प्रकाशित गरेका छन् । निर्वाचन कार्यालयहरुले प्रकाशन गरेको सूचि अनुसार काठमाडौंमा सबैभन्दा बढी ३ सय ७३ जनाको उम्मेदवारी परेको छ भने मनाङमा सवैभन्दा कम ५ जनाको उम्मेदवारी परेको छ ।
काठमाडौंको क्षेत्र नंवर १ मा ३५ जना दलीय र १२ जना स्वतन्त्र गरी ४७ जनाको उम्मेदवारी परेको छ । 
त्यस्तै काठमाडौं २ मा ३४ जना दलीय र १३ जना स्वतन्त्र, काठमाडौं ३ मा २५ दलीय र ६ स्वतन्त्र, काठमाडौं ४ मा ३० दलीय र १३ स्वतन्त्र, काठमाडौं ५ मा २२ जना दलीय र ६ जना स्वतन्त्र, काठमाडौं ६ मा २६ दलीय र ६ जना स्वतन्त्र, काठमाडौं ७ मा २६ जना दलीय र ६ जना स्वतन्त्र, काठमाडौं ८ मा २८ दलीय र ६ जना स्वतन्त्र, काठमाडौं, ३१ जना दलीय र ११ स्वतन्त्र र काठमाडौं १० मा २९ जना दलीय र ११ जना स्वतन्त्र ब्यक्तिले उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।
 
त्यस्तै उपत्यका बाहिर मोरङमा २ सय ७६ जना, सुनसरीमा २ सय २९ जना, सप्तरीमा २ सय ६० जना, रौतहटमा २ सय ७७ जनाले मनोनयन दर्ता गराएका छन् । 
रुपन्देहीमा २ सय ४१ जना, नवलपरासीमा १ सय ८३ जनाले उम्मेदवारी दिएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको मनाङमा भने ५ वटा दलका ५ जनाले मात्रै उम्मेदवारी दिएका छन् । 
त्यस्तै डडेल्धुरामा १६ दलको तर्फबाट उम्मेखदवारी दिइएको छ भने १ जना स्वतन्त्रले उम्मेदवारी दिएका छन् । हुम्लामा १२ वटा दलीय उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । 
यता, दोलखामा ४७ जना, रामेछापमा ३२ जना, पांचथरमा ३३ जनाले मनोनयन दर्ता गराएका छन् । देशका २ सय ४० निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराउनेहरुको संख्या ६ हजार ३ सय ५२ रहेको छ । 
उम्मेदवारहरुको विरुद्धमा भोलि उजुरी दिने, पर्सी आयोगले उम्मेदवारहरुको छानबिन गर्ने, २१ गते नामावली प्रकाशन गर्ने, २२ गते नाम फिर्ता लिने, २३ गते अन्तिम नामावली प्रकाशन गर्ने र २४ गते उम्मेदवारलाई चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । 
स्रोत: नेपाली संचारमाध्यम