सर्वोच्च अदालतले मायाकुमारी शर्मालाई कतारका लागि नेपाली राजदुतबाट तत्काल बर्खास्त नगर्न नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीश प्रकाश वस्तीको एकल ईजलासले प्रारम्भिक सुनुवाई गर्दै रिटको किनारा नलागेसम्म कतारका लागि नयाँ राजदुत नियुक्त नगर्न समेत सरकारलाई आदेश दिएको हो।
राजदूत शर्माले केही दिन अघि आफूलाई कतारको राजदुतबाट बर्खास्त गर्ने सरकारी निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
कुटनीतिक मर्यादा विपरित कार्य गरेको भन्दै दिनअघि बसेको मन्त्रीपरिषद् बैठकले राजदुतबाट शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
यस्तै सर्वोच्चले राजदुतको पदबाट बर्खास्तगी सम्बन्धमा १५ दिन भित्र लिखित जवाफ पेश गर्नसमेत सरकारलाई आदेश दिएको छ । यस्तै रिटमा माग दावी भए बमोजिम अन्तरिम आदेशकालागि भने उपयुक्त दिन तोकेर दुवै पक्षलाई उपस्थितिका लागि सूचना दिन पनि आदेशमा भनिएको छ । – सेतोपाटी