आगामी संविधानसभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिने उम्मेदवारको विरोधमा दाबी विरोध – उजुरी

काठमाडौं । आगामी संविधानसभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिने उम्मेदवारको विरोधमा आज दाबी विरोध गर्दै उजुरी दिन निर्वाचन आयोग समय छुट्टयाएको छ । आज बिहानदेखि बेलुकासम्म कुनै पनि उम्मेदवारको विरोधमा दाबी विरोध गर्न सकिनेछ ।

देशभरिका २ सय ४० निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका विभिन्न दल र स्वतन्त्र उम्मेदवारको विरोधमा सम्बन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उजुरी दिन सकिने तोकिएको जनाइएको छ ।

विभिन्न दल र स्वतनन्त्रबाट प्रत्यक्षतर्फ ६ हजार ५ सय ५३ जनाको उम्मेदवारी परेको छ । आयोगले भोलि जाँचबुझ गरी सोमबार अन्तिम नामावली प्रकाशन गर्नेछ ।
 
समानुपातिकतर्फ भने राजनीतिक दलहरुलाई बन्दसूची सच्चाउन आयोगले आज सूचित गर्नेछ । बेलुकी पाँच बजेसम्म सूची सच्चाउने पाइने छ ।

यसअघि हिजो दलहरुले समानुपातिकतर्पmका उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका थिए । १ सय २४ वटा दलले समानुपातिकतर्फको सूची बुझाउन नाम दर्ता गराएकोमा १ सय २१ वटा दलले आयोगमा बन्द सूची बुझाएका हुन् ।

संविधानसभामा कुल ६ सय १ सदस्यमध्ये समानुपातिकतर्फबाट ३ सय ३५ जना सभासद चुनिने छन् । यो प्रणाली अनुसार सिंगो देशलाई एउटै निर्वाचन क्षेत्र मानेर कुल सदर मतको आधारमा ३ सय ३५ सभासद तय गरिने छ ।

पार्टीहरुले प्राप्त गर्ने सदर मत र प्रति सभासद आवश्यक मत अनुसार आयोगमा पेश गरिएको बन्दसूचिबाट समावेशी आधारमा पार्टीहरुले समानुपातिकतर्फका सभासद चुन्न सक्नेछन् ।

राजनीतिक दलहरुले उम्मेदवारको सूचीकृत गर्दा महिला, दलित, उत्पीडित जाति, आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी लगायत अन्य वर्गसमेतको कानुनमा व्यवस्था भएबमोजिम समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्था छ । RSS, IMAGECHANNEL