बारा जिल्लाका एमाले उम्मेद्वार आलममाथि भएको आक्रमणको छानविन सुरु

काठमाडौं  । बारा जिल्लाका एमाले उम्मेदवार मोहम्मद आलममाथि भएको आक्रमणको छानवीन गर्न गठित समितिले आजबाट आफ्नो काम थाल्दैछ । सरकारले हिजो नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिनकर शम्सेर राणाको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति बनाएको थियो । समितिलाई ७ दिन भित्र घटनाको छानविन गरि प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । 
 
यता, गोलीलागेर गम्भीर घाइते भई काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सघन कक्षमा उपचाररत आलमको स्वास्थ्यस्थिति झन् गम्भीर बनेको छ । उनको स्वास्थ्य अवस्था झ्न विग्रिएको चिकित्सकहरुले बताएका छन् । स्वास प्रस्वासको मात्रामा पनि कमी आएको र आँखाको चाल पनि घटेको बताईएको छ । 
शुक्रवार त्रिभुवन राजपथस्थित पर्दानी पुलको चैनपुरमा साथीहरुसँग कुरा गरिरहेका बेला भारतीय नम्बर प्लेटको मोटर साइकलमा आएका ब्यक्तिहरुले नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेद्वार आलममाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । RSS, IMAGECHANNEL