अज्ञात बन्दुकधारीको समूहले लिबियाका प्रधानमन्त्रीलाई अपहरण गरे

अज्ञात बन्दुकधारीको समूहले लिबियाका प्रधानमन्त्री अली जेइदानलाई अपहरण गरेका छन् । लिबियाको राजधानी त्रिपोलीस्थित एक होटलबाट प्रधानमन्त्री जेइदानलाई अपहरण गरी अज्ञात स्थलतर्फ लगेको प्रधानमन्त्रीको प्रेस कार्यलयले पुष्टी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनाबारे थप विवरण आउन बाँकी छ । 
प्रधानमन्त्री जेइदानलाई पूर्व विद्रोही समूहले अपहरण गरेको आशंका गरिएको छ । पूर्व शाशक मुआमार गद्याफीको शासनकालका अपराध नियन्त्रण विभागका लडाकुहरुले प्रधानमनत्री जेइदानलाई अपहरण गरेको हुनसक्ने बताइएको छ । 
यसै हप्ता सम्पन्न बेलायत भ्रमणको क्रममा लिबियाका प्रधानमन्त्री जेइदानले लिबिया गैरकानुनी हतियारको ब्यापार र ओसारपसारको लागि अन्तराष्ट्रिय अखडा बनेको भन्दै सहयोग गर्न पश्चिमाहरुसँग अपील गरेका थिए ।
 
दुई वर्ष अगाडि तत्कालीन शाशक मुआमार गद्याफीलाई विद्रोहमार्फत अपदस्थ गर्दै नयाँ शाशन व्यवस्था लागू गरिएपनि लिबियामा अहिलेपनि सुरक्षा चुनौती रहिआएको जनाएको छ । 
गद्याफीको पतनपछि अझैपनि सशष्त्र समूहहरुले केही सहरहरुमा नियन्त्रण कायमै राखेका छन् भने उनीहरु केन्द्र सरकारसँग थप अधिकारका लागि संघर्षमा छन् । 
प्रधानमन्त्री जेइदानको अपहरण पनि यसैको एउटा श्रृंखला हुनसक्ने अनुमान गरिएको छ । AGENCIES