विजयादशमीका दिन दिनभर नै पानी परेपछि सर्वसाधारण प्रभावित भए । देशभर नै वर्षाले दसैंलाई प्रभावित पार्यो । आइतबार पूर्वबाट सुरु भएको मनसुन मध्य हुँदै पश्चितर्फ गएको छ । पूर्व र मध्यक्षेत्रमा आइतबार बिहानैदेखि सुरु भएको वर्षा सोमबार पनि जारी रहृयो । सिमसिम पानी पर्ने क्रम अझै रोकिएको छैन ।
बेला बेला अलि बढी परिमाणमा वर्षा भइरहेकाले अधिकांश क्षेत्रमा चिसो बढेको छ । लगातार पानी परेसँगै पहाडी जिल्लाका उच्च लेकाली स्थानहरुमा चिसो एक्कासी बढेको छ ।
दसैंको टीकाको दिन भएको वर्षाका कारण टीका लगाउन विभिन्न स्थानमा आउजाउ गर्नुपर्ने सर्वसाधारणलाई समस्या भयो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका अनुसार मंगलबारदेखि क्रमशः मौसम सफा हुँदै जानेछ । भारतको ओडिसामा आएको पायलिन नामक समुद्रि आँधीको प्रभाव नेपालमा पनि परेको मौसमविद्हरुको भनाइ छ ।