विनोद त्रिपाठी
नारायणगढबाट काठमाडौंका लागि छुटेको बा २ ख २५९८ नम्बरको माइक्रो बस चितवनको दारेचोकबाट त्रिशूलीमा खस्दा ११ जना बेपत्ता भएका छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले ९ जनाको उद्दार गरि भरतपुर मेडिकल कलेजमा भर्ना गरेको छ । दसैंको दिन टिका लगाउन आफन्तकहाँ गएका यात्रुहरुले भरिएको माइक्रोबस त्रिशूलीमा खसेको हो ।
मृत्युहुनेमा नाम खुल्न नसकेकी अष्ट्रेलियन ३२ बर्षकी महिला र ललितपुर घर भएकी २२ वर्षीया निता पौडेल रहेका छन् । मुग्लिन र कुरिनटारको बीचमा पर्ने पृथ्वीराजमार्गको फिस्लिङ सडकबाट माइक्रोबस नदीमा खसेको हो ।
अबिरल परेको वर्षाले नदीमा पानीको बहाब बढेकोले नदिमा हराइरहेका यात्रु र बस खोज्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैदेखि जनपद र सशस्त्रले हराइरहेका यात्रु खोजिरहेको छ ।
बिहानैदेखि घटनास्थलमा खटेका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले यात्रुहरुको खोजी कार्य भइरहेको जानकारी दिए । पानी पर्ने क्रम नरोकिएकोले खोजीमा समस्या भएको छ ।
दसैंको बेला टिका थाप्न जानेहरु दुर्घटनामा परेपछि इलाका प्रहरी कार्यालय मुग्लिनमा आफन्तहरुको रुवाबासी चलेको छ । टिकट नकाटी बस चढेकोले हराइरहेका यात्रुको संख्या यकिन हुन नसकेको प्रहरीले जनायो ।