नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आगामी मंसिर ४ गते हुने संविधानसभाको निर्वाचन प्रजातन्त्रका पक्षधर र विरोधीहरुबीचको संघर्ष भएको बताउनुभएको छ ।
प्रेस युनियन बाँकेले बुधवार नेपालगन्जमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति कोइरालाले विश्वमा कुनैपनि मुलुकमा प्रजातन्त्रको हार नभएको बताउदै नेपालमा पनि प्रजातन्त्रवादीकै जित हुने बताउनुभयो ।
जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्न दोस्रोपटक संविधानसभाको निर्वाचन गर्न लागिएको उहाँको भनाई छ ।
समावेशी भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाको निर्वाचन आवश्यक परेको उहाँले बताउनुभयो । बाँके र चितवनका विभिन्न गाउमा पुगेर फर्किएका सभापति कोइरालाले गाउँगाउँमा निर्वाचनप्रतिको उत्साह देखिएको बताउनुभयो ।
आम नागरिकहरु डरत्रासको राजनीतिबाट मुक्त हुन चाहेको सभापति कोइरालाको भनाई थियो । आगामी निर्वाचन प्रजातन्त्रवादीले जित्नुपर्नेमा सभापति कोइरालाले जोड दिनुभयो ।
बाँके क्षेत्र नम्बर ३ बाट संविधानसभा निर्वाचनमा उम्मेद्वार बन्नुभएका सभापति कोइरालालाई अगुवा नेता कार्यकर्ताले भावी प्रधानमन्त्रीको रुपमा प्रचार गर्दै मत मागिरहेका छन् ।
कोइाराला र खड्काबीच भेट
नेपालगन्जमै रहेका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले बुधवार बिहान सभापति कोइरालासंग भेटघाट गर्नुभएको छ । भ्रष्टाचारमा दोषि ठहर भई १४ महिना जेल बसेर केहीदिनअघि रिहा भएका खड्का चुनावमा कांग्रेसलाई सहयोग गर्न भन्दै देश दौडाहामा हुनुहुन्छ । सभापति कोइरालासंगै कांग्रेस नेताहरु आनन्दप्रसाद ढुंगाना, दिलबहादुर घर्तीलगायतका नेताहरु रहनुभएको छ ।