एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान सभा चुनाव आफ्नो पार्टीका लागि जीवन मरणको विषय भएको बताउनुभएको छ ।
बुटवलमा भएको कार्यक्रममा प्रचण्डले मंसिर ४ गते हुने संबिधान सभाको दोस्रो चुनावले पहिचान सहितको संघीयता निश्चित गरेको दावी गर्दै आफ्नो पार्टी विरुद्ध भ्रम छर्ने काम भैरहेको आरोप लगाउनुभयो ।
चुनावबाट आफ्नो पार्टीलाई बहुमत र संघीयता पक्षधरलाई दुई तिहाई मत आउने प्रचण्डले दाबी गर्नूभयो । लुम्बिनी क्षेत्रको एकीकृत विकासका लागि नेता बाबुराम भट्टराईलाई रुपन्देही ४ बाट उम्मेदवार बनाएको भन्दै प्रचण्डले संघीयता विरोधी पुरानो संरचना तोड्न भट्टराईमार्फत लुम्बिनीमा शक्ति केन्द्रित गरेको बताउनुभयो ।
कार्यक्रममा नेता बाबुराम भट्टराईले पहिचानको लडाई आफ्नो पार्टीले नै जित्ने र यथास्थितिवादी शक्ति चुनाव पछि समाप्त भएर जाने दाबी गर्नूभयो । उहाँले लुम्बिनीबाटै पार्टीको विजयी अभियान सुरु भएको बताउनुभयो ।