– शेखर अधिकारी
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा शेष घले निर्वाचित भएका छन् ।
काठमाडौंमा भएको छैटौं महाधिवेशमा प्रत्यासी तेन्जी शेर्पालाई भारी मतले हराउँदै घले निर्वाचित भएका हुन् । घलेले ५ सय १० मत पाए भने शेर्पाले २ सय ८० मत पाएका छन् ।
पदाधिकारीसहित कार्यसमितिमा पनि घले प्यानलकै विजयी भएका छन् । उपाध्यक्षमा भवन भट्ट, टीबी कार्की महासचिवमा कुमार पन्त, सचिवमा रन्जु थापा र कोषाध्यक्षमा बद्रि केसी निर्वाचित भएका छन् ।
भट्टले ३ सय ४८, कार्कीले ३ सय,पन्तले ३ सय ९५, थापाले २ सय ७२, केसीको ४ सय ७२ मत पाएका छन् ।
अध्यक्षका प्रत्यासी घलेलाई समर्थन गर्दै तीन प्रतिस्पर्धी रामप्रताप थापा, रामेश्वर साह र हितमान गुरुङले उम्मेदवारी फिर्ता लिएपछि उनको विजय सहज भएको हो ।
सन् २००३ मा स्थापना भएको एनआरएनको नेतृत्व पहिलोपटक निर्वाचनबाट चुनिएको हो ।
एसिया संयोजकमा गंगा राई, उपसंयोजकमा रोविन्द्रप्रसाद श्रेष्ठ, यूरोप संयोजकमा अर्जुन श्रेष्ठ, मध्यपूर्व संयोजकमा चन्द्र रोका र अफ्रिका संयोजकमा हिक्मत थापा विजयी भएका छन् ।
एनआरएन विश्व सम्मेलन भने सोमबार बिहान राष्ट्रपति रामवरण यादवले उदघाटन गर्ने कार्यक्रम छ ।
को हुन् शेष घले ?
पश्चिम नेपालको लमजुङमा जन्मिएका र त्यहीँ बाल्यकाल बिताएका शेष घले, ५७, अहिले अस्ट्रेलियाका दुई सय धनाढ्यमध्येका एक हुन् । त्यहाँको बिजनेस रिभ्यु विक्ली पत्रिकाद्वारा यस वर्ष सूचीकृत अर्बपतिहरूमध्ये उनी १ सय ८०औँ नम्बरमा छन् ।
लमजुङबाटै एसएलसी गरेका घलेले युक्रेनको खार्कोभबाट सडक इन्जिनियरिङ्मा स्नातकोत्तर गरेर फर्केपछि सडक विभागमा जागिर पनि खाए । एमबीए पढ्न अस्ट्रेलिया गएका उनी त्यसयता उतैका स्थायी बासिन्दा भएका छन् ।
मेलबोर्नको मेलबोर्न इन्स्टिच्युट अफ टेक्नोलोजी र त्यहाँको रियल स्टेट व्यापारमा स्थापित घले अहिले नेपाल अन्तर्राष्ट्रिय होटल चेन सेराटनसँग आबद्ध भएर राजधानीमा पाँचतारे होटल निर्माण थाल्ने प्रक्रियामा छन्, जसमा उनी आठ अर्ब रुपियाँभन्दा बढी लगानी गर्दै छन् । – कान्तिपुर