एपेन्डिक्स क्यान्सरबाट ग्रसित डा.वाग्ले आइसीयुमा

एपेन्डिक्स क्यान्सरबाट ग्रसित डा.चित्रप्रसाद शर्मा वाग्लेको पिसाबथैलीमा समेत समस्या देखिएपछि थप उपचारमा दिल्ली आउन लागेका बेला सिकिस्त भएर धापासीस्थित ग्रान्ड इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ ।
झण्डै एक बर्ष दिल्लीको रोहिणीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराएपनि निको नहुने संकेत देखेपछि दुई महिनाअघि काठमाडौं फिरेका डा.वाग्ले तिहारपछि पुनः दिल्ली आउने तयारीमा थिए । 
वाग्ले श्रीमती पुजा पराजुलीका अनुसार २० भन्दा बढी साइकलमा किमो दिइसकेको अवस्थामा शारीरिक कमजोरी एकदमैं बढेपछि र क्यान्सर संक्रमणको थप आशंकामा ग्रान्डको आइसीयुमा दुइ दिनयता भर्ना गरिएको छ । ‘अलिक जटिल स्थिती देखिएको छ,’पुजाले फोन सम्पर्कमा भनिन्-‘फेरि किमो दिने प्रयास भइरहेको छ ।’
सरकारी छात्रवृत्तिमा रुसमा एमबीबीएस पढेर फिरेपछि झण्डै १२ बर्षसम्म अर्घाखाँचीको सरकारी अस्पतालमा चिकित्सक सेवा दिएका डा.वाग्ले उत्कृष्ट चिकित्सकका रुपमा नेपाल सरकारबाट दुई बर्षअघि पुरस्कृत भएका थिए । दुई बर्षअघि विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा एमडी गर्न बैंकक गएका बेला उनमा क्यान्सर संक्रमण रहेको थाहा भएपछि पढाइ छाडेर उनी दिल्ली उपचारमा आएका थिए । 
वाग्लेको थप परीक्षण-उपचारमा अमेरिका वा क्यानडा जानुपर्ने भनी राजीव गान्धी क्यान्सर अस्पतालले ‘रिफर’ गरेपनि आर्थिक अभावमा यो असम्भव भएको थियो । डा.वाग्लेले ग्रामिण क्षेत्रमा पुर्याएको चिकित्सा योगदान र सेवाभावका कारण सुरु भएको फेसबुक अभियानमा विश्वभरमा नेपाली शुभेच्छुकले स्वेच्छिक रुपमा झण्डै २० लाख रुपैंयाको सहयोग प्रदान गरेका छन् । वाग्लेका दुई नाबालक छोरी र एक अपाङ्ग छोरा छन् ।