चुनाब प्रचारमा हेलिकप्टर प्रयोग गर्न पाइने – प्रतिवन्ध खुल्ला

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई हेलिकप्टर प्रयोगमा लगाएको प्रतिवन्ध खुल्ला गरेको छ ।
अब सवारी साधन नपुग्ने ठाउँमा हेलिकोप्टर प्रयोग गर्न पाइने छ । तर त्यसका लागि आचारसंहिता समितिसँग अनुमति लिनुपर्नेछ ।
यसअघि आयोगले सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा र जाजरकोट बाहेकका जिल्लामा हवाईजहाज तथा हेलिकप्टर जस्ता सवारी सधान चार्टर गरी चुनाव प्रचार प्रसार गर्नु आचारसंहिता विपरित हुने भनेको थियो ।
समयको चाप र मौसमको खरावीका कारण अरु क्षेत्रमा पनि हेलिकोप्टर प्रयोगमा लचकता अपनाएको आयोगको भनाई छ । त्यसका लागि केही दलहरुले हेलिकप्टर प्रयोग गर्न पाउनुपर्ने भन्दै आचारसंहितामा लचकता अपउनाउन आयोगसँग आग्रह गरेका थिए ।
यस्तै निर्वाचन आयोगले सञ्चारमाध्यामलाई कुनै पनि राजनीतिक दलका कार्यक्रम प्रतयक्ष प्रशारण गर्न प्रतिवन्ध लगाएको छ । केही सञ्चार माध्यामले आफू निकट दलका कार्यक्रम प्रत्यक्ष प्रसारण गरेपछि आयोगले त्यसमा प्रतिवन्ध लगाएको छ । आयोगले कार्यक्रमको प्रत्यक्ष प्रशारण नगरी समाचार मात्र प्रशारण गर्न भनेको छ ।
त्यस्तै आयोगले यसअघि तोकिएको मापदण्ड अनुसारको पर्चा पम्प्लेट मात्र प्रयोग गर्न आग्रह गरेको छ । मापदण्ड विपरितका पर्चा पम्प्लेट प्रयोग भइरहेको भन्दै आयोगले पुनः दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको हो ।
७५ ग्रामसम्मको कागजमा कुल क्षेत्रफल तीन सय बर्ग इन्चसम्मको आकारको पर्चामात्र प्रयोग गर्नु पर्ने, त्यस्तो पर्चा छपाउँदा एक रंगमा मात्र छाप्नु पर्ने र हरेक पर्चामा मुद्रक र पर्चा छपाउने दल वा उम्मेदवार समेतको नाम ठेगाना खुलाउनुपर्ने कुरामा ध्यान दिन आयोगले पुनः आग्रह गरेको हो ।
यसैबीच निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचि सार्वजनिक गरेको छ । एक सय २२ दलका झण्डै ११ हजार उम्मेदवारको बन्द सूचि सार्वजनिक गरिएको हो ।