आचारसंहिता उल्लंघनमा उजुरी :वामदेवलाई निर्वाचन कार्यालयले बोलायो

बर्दिया १ का उम्मेदवार तथा एमाले उपाध्यक्ष वामदेव गौतमलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन कार्यालयले बोलाएको छ ।गौतमविरुद्ध एमाओवादीले आचारसंहिता उल्लंघनको आरोप लगाउँदै उजुरी दिएको थियो ।
आचारसंहिता विपरीत ठूलो आकारको रंगिन पोस्टरबाट प्रचारप्रसार गरेको भन्दै एमाओवादी जिल्ला इन्चार्ज दुर्गाबहादुर चौधरीले लिखित उजुरी दिएको क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत खड्गबहादुर श्रेष्ठले बताए । गौतमले भने ती पोस्टर कार्यकर्ताले छापेको र साइजसमेत थाहा नपाएका कारण तत्काल हटाइने जानकारी दिएको निर्वाचन अधिकृत श्रेष्ठले बताए । एमाले कार्यकर्ताले ती पोस्टर हटाइने भन्दै निर्वाचन कार्यालयमा लिखित प्रतिबद्धता गरेका छन् ।
निर्वाचन आचारसंहिताअनुसार बढीमा ३ वर्ग इन्च साइजको पोस्टर उम्मेदवारले प्रयोग गर्न पाउने प्रावधान रहेको छ । मुख्य निर्वाचन अधिकृत ऋषि अधिकारीले आचारसंहितासम्बन्धी मौखिक उजुरी केहीको परे पनि लिखित उजुरी परेको यो पहिलो पटक भएको बताए ।