अर्घाखाँचीका दलहरुद्धारा आचार संहिता उलंघन, पत्रकारको चासो

शोभाखर पन्थी
कात्र्तिक-९, अर्घाखाँची । निर्वाचनमा सहभागी दलहरुले आचार संहिता उलंघन गरेको भन्दै अर्घाखाँची जिल्लामा क्रियासिल पत्रकारहरुले क्षेत्रीय प्रशासकको ध्यानाकर्षण गराएका छन् । 
सुरक्षा अवस्था र निर्वाचन तयारीको अनुगमन अर्घाखाँची जिल्लामा आएको क्षेत्रीय सुरक्षा निकायका प्रमुखहरु र पत्रकारहरु बीचको अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकारहरुले निर्वाचनको मुखमा विकास निर्माणकाकाम गरेको,  चुनाव प्रचार प्रसारको लागि होर्डिङ्ग बोर्ड बनाएको, कर्मचारी र शिक्षकहरु कार्यालय र विद्यालय छोडेर चुनाव प्रचार प्रसारमा लगिएको, आवश्यकता भन्दा बढी यातायातका साधन संचालन गरेको भन्दै वास्तविकता छानविनको माग गरे । 
अघिल्ला निर्वाचनहरुमा जस्तै यस पटकको चुनावमा पनि दलहरुले मतदान केन्द्र कब्जा गरी फर्जिमत खसाल्न सक्ने भन्दै उनीहरुले मतदाता र मतदान केन्द्रको सुरक्षाको लागि सुरक्षा निकायको ध्यानाकर्षण गराए । 
कार्यक्रममा मन्तव्य राख्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लोक दर्शन रेग्मीले उम्मेदवार र मतदाताको सुरक्षा ग्यारेण्टीको लागि सरकार प्रतिबद्ध रहेको बताउनु भयो । निर्वाचनमा हुन सक्ने अवान्छित गतिविधि रोकी शान्ती पुर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न एकिकृत निर्वाचन सुरक्षा योजना अन्तरगत सेना, प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको बताउनु भयो । 
निर्वाचनमा आचार संहिता पालना गर्नु सबै दल, उम्मेदवार र व्यक्तिको दायित्व भएको भन्दै, उहाले आचार संहिता उलंघन गर्ने जोकोहि व्यक्ति भए पनि कानुनको दायरामा ल्याउने दावी गर्नु भयो । कार्यक्रममा मन्तव्य राख्दै प्रहरी नायव महानिरिक्षक सुरेन्द्र बहादुर शाह र प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले जनताको सुरक्षाप्रति सुरक्षा संयन्त्र सतर्क रहेको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन सबै पक्षलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, उपाध्यक्ष हिम बहादुर जिसि लेकाली, सचिव प्रेम नारायण आचार्य, प्रेश युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गणेश खनाल, पत्रकार महासंघका केन्द्रीय पार्षद वीरेन्द्र के.सी., वार एशोसियसनका अध्यक्ष केवी भुसाल, उपभोक्ता संरक्षण मञ्च अध्यक्ष मोती खनाल, लगायतले मन्तव्य राख्नु भएको थियो ।  
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु