तत्कालिन युवराज दिपेन्द्रसँग पटक-पटक नाम जोडिएर चर्चामा आएकी देवयानी राणा चुनाव प्रसारमा ‘बाबुलाई भोट दिएर ससुरालाई जिताउन भारत जान्छु’

– ऋषिराम पौड्याल                
तत्कालिन युवराज दिपेन्द्रसँग पटक-पटक नाम जोडिएर चर्चामा आएकी देवयानी राणा राप्रपा नेता पशुपति शम्सेर राणाको चुनाव प्रचार-प्रसारमा बुधबार निस्केकी छिन् ।
०५८ को दरबार काण्डपछि भारतको राजनीतिक परिवारमा वैवाहिक सम्बन्ध गाँसेकी देवयानीले सिन्धुकोट गाउँमा आयोजित चुनावी सभामा वोल्दै आफ्ना पिता पशुपति शम्सेरलाई जिताउन आग्रह गरिन् । उनले राप्रपाको नाम नलिई भोट खसालेर मात्र भारत फर्कने जानकारी दिइन् । ‘भारतमा अहिले चुनावी कार्यक्रम चलिरहेको छ,’ उनले भनिन्, ‘मेरो ससुरा उम्मेदबार हुनुहुन्छ ।’ पहिले म नेपाली हुँ त्यसैले ससुरालाई नेपालको चुनाव सकेर आउने वताइकी छु । आफूले भारतमा विवाह गरेपनि नेपालकै छोरी भएको वताइन् ।
जिल्लाको विकासमा पशुपतिको योगदान धेरै रहेको र संविधान बनाउन सक्षम व्यक्ति भएकाले मत मागेको तर्क उनले गरेकी थिइन् । पशुपतिले भाषण गरिरहँदा देवयानी फ्लोरमा बसेर सुनेकी थिइन् । उनी भीडको माझमा गएर मत मागेकी थिइन् । उनी संविधानसभाको अघिल्लो निर्वाचनमा पनि चुनावी प्रचारमा आएकी थिइन् ।
सभामा पशुपतिले संविधान निर्माण र विकास कार्यक्रम सञ्चालनमा आफ्नो योगदान रहेको वताए । उनले विगतमा संविधान निर्माणका लागि चार दलले धोका दिएको वताए । पशुपति जिल्लाको ३ नं क्षेत्रमा चुनावी प्रतिस्पर्धामा छन् ।