गोरखा-१ मा बाबुराम भट्टराईविरुद्धको उजुरीलाई आयोगले मान्यता नदिने, मतगणना शुरु

कांग्रेस, एमालेले गाविस र बुथ तोकेर उजुरी दिएको भएपनि त्यसमा दम नरहेको धारणा जिल्ला निर्वाचन कार्यालयले बनाएको छ । निर्वाचन अधिकृत प्रकाश काफ्लेका अनुसार भोली (बुधवार) ११ बजेबाट मतगणना सुरु हुँदैछ ।
माओवादी नेता बाबुराम भट्टराई उम्मेदवार रहेको गोरखा-१ मा एमाओवादीले १५ वटा बुथ कब्जा गरेको भन्दै कांग्रेस, एमाले लगायत दलले निर्वाचन रद्द गर्न लिखित उजुरी दिएका छन् ।
पूर्व प्रधानमन्त्री तथा एमाओवादी वरिष्ठ नेता भट्टराई उम्मेदवार रहेको क्षेत्रमा धाँधलीपूर्ण भएको भन्दै कांग्रेसका उम्म्द्वार किरणबाबु श्रेष्ठ, एमाले उम्मेद्वार रामशरण बस्नेतले उजुरी दिएका हुन् ।
१५ वटा केन्द्रहरु एमाओवादीले बुथ कब्जा गरी कांग्रेस एमालेका मतदाताहरुलाई मतदान गर्नबाट बञ्चित गरेको कांग्रेस, एमाले लगायतका दलका उम्मेद्वारले उजुरीमा लेखेका छन् ।
एमाओवादीले अन्य पार्टीका मतदाता कुटेको, मतदान केन्द्रबाट लखेटेको, मतदातालाई गोप्य मतदान गर्न रोकेर आफैले छाप लगाइदिएका, मतदाता परिचय पत्र लुटेको, मतदान स्थलसम्म आउन अबरोध गरेको लगायत आरोपहरु कांग्रेस, एमालेको उजुरीमा उल्लेख छ ।
ज्ञानमार्ग उमावि घ्याल्चोकको दुई केन्द्र, पातालदेवी निमावि घ्याल्चोक, हिमालय मावि घैरुङ्ग, माँझलुदी प्रावि अँधेरी घैरुङ्ग जनशक्ति उमावि नाम्जुङ्गका दुई केन्द्र, नवजागृति उमावि अश्राङ्ग, चण्डेश्वरी प्रावि अश्राङ्ग, जनशक्ति प्रावि अश्राङ्ग, जनजागृति प्रावि अश्राङ्ग, सरस्वती उमावि बोर्लाङ्ग, लक्ष्मीज्योति प्रावि, स्थानेश्वर प्रावि दर्बुङ्ग, भगवती मावि दर्बुङ्ग, बालकी प्रांवि भुम्लिचोक, तोमनडाँडा निमावि भुम्लिचोक केन्द्रहरु एमाओवादीले नियन्त्रणमा लिएर मनोमानी ढंगले मतदान गरेको कांग्रेस, एमालेले दिएको उजुरीमा उल्लेख गरेका छन् ।
त्यस्तै कांग्रेसले २ नम्बरको छ वटा मतदान केन्द्रमा पनि एमाओवादीले एक्लौटी गरेर मतदाताहरुलाई मतदान गर्नबाट बञ्चित गरेको भन्दै उजुरी दिएको छ । जनता उमावि आँपपीपल, शारदा मावि खोप्लाङ्ग, बड्डाँडा स्वास्थ्य चौकी पालुंटार, महेन्द्रलीला उमावि हर्मी, सरस्वती प्रावि हर्मी र लक्ष्मी मावि गाईखुर केन्द्र कब्जा गरी एमाओवादीले एक्लौटी मतदान गरेको कांग्रेसले दिएको उजुरीमा उल्लेख गरिएको छ ।
त्यस्तै एमाले पनि सो क्षेत्रका बिभिन्न तीन केन्द्रहरु एमाओवादीले कब्जा गरेको भन्दै उजुरी दिएको छ । एमालेले क्षेत्र नंबर ३ का बिभिन्न तीन मतदान केन्द्रमा पनि माओवादीले कब्जा गरी एक्लौटी मतदान गरेको आरोप लगाउँदै उजुरी दिएको छ ।
कांग्रेसका उम्मेद्वार किरणबावु श्रेष्ठले एमाओबादीले वाइसीएल खटाएर बुथ कब्जा गरेको आरोप लगाए । साथै उनले धाँधलीपूर्ण रुपमा निर्बाचन सम्पन्न भएकाले निर्बाचन रद्ध गरी गरी ती मतदान केन्द्रहरुमा पुन मतदान गर्न निर्वाचन आयोग समक्ष माग गरेको बताएका छन् ।