काठमाडौं-निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले पाएको सिट संख्याको जानकारी गराउँदै समानुपातिकबाट संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलसँग सभासदको नाम सिफारिस गर्न आग्रह गरेको छ।
आयोगले मंगलबार समानुपातिक निर्वाचनमा भाग लिएका १ सय २२ दललाई बोलाएर उनीहरूले पाएको सिट संख्याबारे औपचारिक जानकारी गराएको हो। ३० दललाई बन्दसूचीबाट उम्मेदवार सिफारिस गर्न उसले एक साताको समय दिएको छ।
निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै छानबिनको माग गरिरहेका एकीकृत माओवादी, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना, राष्ट्रिय जनमुक्ति पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस सद्भावना पार्टी, संघीय समाजवादी, फोरम गणतान्त्रिक र संघीय सद्भावना भने मंगलबार बैठकमा उपस्थित थिएनन्।
‘दलहरूलाई बोलाएर उनीहरूले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँडको काम औपचारिक रूपमा सम्पन्न भएको छ,’ प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, ‘साता दिनभित्र बन्दसूचीमा रहेका उम्मेदवारबाट दलहरूले आफूले पाएको सिटमा उम्मेदवार नियुक्तिका लागि सिफारिस गर्नेछन्।’ बैठकमा उपस्थित नभएका एकीकृत माओवादीलगायत दललाई उम्मेदवार सिफारिसका लागि पत्राचार गरिएको उनले जनाए।
समानुपातिकमा उम्मेदवार सिफारिस नगर्ने जनाउँदै आएका दलहरूका सवालमा आयोग संविधान र कानुनका आधारमा अघि बढ्ने आयोगले जनाएको छ। ‘संविधानसभा जीवित रहेसम्म बन्दसूची जीवित रहन्छ। त्यसैले जसले जति सिट प्राप्त गरेको छ, त्यो उसकै खातामा बसिराख्छ,’ उनले भने ‘सात दिन समय तोकेका छौं, आएन भने तीन दिन थपिन्छ। तै पनि नआए, बाँकी राजनीतिक प्रक्रियाको कुरा हो। आएकालाई जहाँ पठाउनुपर्ने हो, त्यहाँ पठाउँछौं।’
अब दलले प्राप्त गरेको सिट संख्यामा बन्दसूचीबाट उम्मेदवारको नामावली मंसिर २५ भित्र आयोगमा पेस गर्नुपर्नेछ। उम्मेदवार पेस गर्दा ५० प्रतिशत महिला, मधेसी पुरुष १५.६ र महिला १५.६, दलित महिला ६.५ र पुरुष ६.५, उत्पीडित जाति जनजाति पुरुष १८.९ र महिला १८.९, पिछडिएका वर्ग २.२ र खस आर्य तथा अन्य पुरुष १५.१ र महिला १५.१ प्रतिशत हुनुपर्ने निर्वाचन अध्यादेशमा उल्लेख छ।
आयोगको सार्वजनिक गरेको अन्तिम सिट परिणामअनुसार ३० दलले समानुपातिकतर्फ संविधानसभामा प्रतिनिधित्व गर्नेछन् । निर्वाचनमा २१ हजारभन्दा बढी मत प्राप्त गरेका दलले सिट प्राप्त गरेका छन् । समानुपातिकतर्फ सदरमत ९४ लाख ६३ हजार ८ सय ६२ मध्ये सबैभन्दा धेरै २४ लाख १८ हजार ३ सय ७० मत ल्याएको नेपाली कांग्रेसले ९१ सिट पाएको छ।
त्यस्तै, २२ लाख ३९ हजार ६ सय ९ मत ल्याएको नेकपा एमालेले ८४ सिट पाएको छ। १४ लाख ३९ हजार ७ सय २६ मत पाएको एकीकृत माओवादीले ५४ र ६ लाख ३० हजार ६ सय ९७ मत ल्याएको राप्रपा नेपालको भागमा २४ सिट परेको छ। प्रत्यक्षतर्फ कांग्रेसले १ सय ५, एमालेले ९१ र एमाओवादीले २६ सिटमा जित हात पारेका छन्।
समानुपातिकतर्फ मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाले १०