मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले किर्ते गरेर सुनसरी ३ बाट चुनाव जीतेको भन्दै संविधानसभा अदालतमा मुद्दा परेको छ।
गच्छदारकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी भगवती चौधरीले बुधवार संविधानसभा अदालतमा मुद्दा दिएकी हुन।
‘सूर्यमा लागेको सदरमतमा किर्ते स्वस्तिक छाप लगाई बदर गराइकोले सद्दे किर्ते पहिचान गराई तत्काल विपक्षीको विजय परिणाम रोक लगाई आवश्यक छानविन गरी गराई मलाई विजय घोषित गरी पाउँ’ मुद्दामा भनिएको छ ।
मंसीर ४ गते भएको संविधानसभा निर्वाचनमा गच्छदारले सुनसरी ३ र मोरङ ७ बाट उम्मेद्वारी दिएका थिए।
मोरङ ७ बाट चुनाव हारे पनि उनले सुनसरीबाट भने जितेका थिए।
सुनसरी ३ मा गच्छदारले १७ हजार ५ सय २४ ल्याएर चौधरीलाई ३ सय ६२ मतले जितेका थिए। सो क्षेत्रमा ५३ हजार ४ सय १९ मत खसेको थियो जसमध्ये ३ हजार ८ सय ५२ बदर भएका थिए।
बदरमतमा पनि आफ्ना २८ सय मत बदर भएको र सो बदर मत कृतिम बदर भएको भन्दै चौधरी अदालत गएकी हुन। setopati