काठमाडौं । समकालीन विश्व राजनीतिमा विवाद भन्दामाथि र सच्चा सम्मानका हकदार मानिने राजनेता नेल्सन मण्डेला ९५ वर्षको उमेरमा यो धरतीबाट सदाका लागि बिदा भएका छन् । जीवनको अधिकांश समय रंगभेद विरुद्धको आन्दोलनमा संघर्ष गरेका नोबेल शान्ति पुरस्कार विजेता मण्डेलाको निधनप्रति विश्वभरका नेताहरुले दुख प्रकट गरेका छन् ।
संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, जापान, चीन, फ्रान्स र युरोपियन युनियनका नेताहरुले मण्डेलाको निधनप्रति शोक व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले मण्डेलाको निधनप्रति शोक ब्यक्त गर्दै दक्षिण अफ्रिकी जनतालाई धैर्य धारण गर्न अपील गरेका छन् । समवेदना सन्देशमा बान कि मुनले मण्डेला न्यायका लागि निस्वार्थ भावना बोकेका नेता भएको प्रतिक्रिया दिएका छन् ।
यसैगरी, अमेरिकी राष्ट्रपति बाराक ओबामाले मण्डेलाको पथमा हिंडेका करौडौंमा आफू पनि एक भएको प्रतिक्रिया दिंदै मण्डेला बिनाको जिन्दगी कल्पना गर्न नसकिने बताएका छन् ।
यता, बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले मण्डेलाको निधनले विश्वका नक्षत्र तारा अस्ताएको प्रतिक्रिया दिंदै शोक सन्तप्त दक्षिण अफ्रिकी जनतामा समवेदना प्रकट गरेका छन् ।
उता, दक्षिण अफ्रिाकका राष्ट्रपति ज्याकोभ जुमाले मण्डेलाको निधनसँगै देशले एक सच्चा सुपुत्र र बालबालिकाले अभिभावक गुमाएको बताउँदै मण्डेलाको निधन नभई शान्तिको निद्रामा रहेको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । Agencies