खन र खनदहमा स्थानीय बासिन्दाद्धारा टोप बहादुर रायमाझीको स्वागत, धाँदलीबारे छानविन गर्न न्यायिक आयोग गठन गर्नु पर्ने भनाई

शोभाखर पन्थी 
खन, अर्घाखाँची ।  एकिकृत नेकपा माओवादीका नेता टोप बहादुर रायमाझीले संविधान सभा निर्वाचनमा भएको धाँदलीबारे छानविन गर्न न्यायिक आयोग गठन गर्नु पर्ने बताउनु भएको छ । 
अर्घाखाँची जिल्लाको खन र खनदह गाविसमा स्थानीय बासिन्दाद्धारा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्तव्य राख्दै उहाले आफ्नो पार्टीलाई हराउन स्वदेशी तथा विदेशी शक्ति केन्द्र लागि परेको आरोप लगाउँदै, निर्वाचनमा भएको धादलीबारे छानविन गर्न तत्काल न्यायिक आयोग गर्न सरकारसँग आग्रह गर्नुभयो । 
न्यायिक आयोग गठन गरी निर्वाचनबारे सत्यतथ्य छानविन नगरेसम्म आफ्नो पार्टी संविधान सभा र सरकारमा सहभागि नहुने उहाको जिकीर थियो । एकिकृत नेकपा माओवादीलाई हराएर अग्रगामी संविधान निर्माणको बाटोमा अवरोध पुराई यथास्थितिवादीहरुले मुलुकमा ०४७ को संविधान ब्युँताएर देशलाई प्रतिगमन तर्फ लैजाने षण्डयन्त्र गरीरहेको बताउँदै सदन र सडकबाट एकसाथ संघर्ष गरी अग्रगामी संविधान निर्माण गरेरै छाड्ने रायमाझिको दाबी थियो । 
अर्घाखाँची जिल्लाको क्षेत्र नं.१ बाट विजयी भएका सभाषद रायमाझीले जिल्लाको विकासको लागि सबै पक्ष एकजुट भएर अगाडी बढ्नु पर्ने बताउनु भयो । प्रकृतिको वरदान रहेको यस जिल्लामा पर्यटन र  कृषिको विकास गरी देश मै नमुनायोग्य जिल्ला बनाउन सकिने उहाको दावी छ । कठीन परिस्थितिमा पनि आफुलाई मतदान गरी विजयी गराएको भन्दै रायमाझीले स्थानीय बासिन्दाहरुप्रति आभार समेत प्रकट गर्नु भएको थियो । नवनिर्वाचित सभाषदलाई स्थानीय बासिन्दाहरुले फूल, माला र अविर लगाएर स्वागत गरेका थिए । 
एकिकृत नेकपा माओवादीले संसद र सरकारमा समेत सहभागी नहुने चेतावनि दिईरहेको समयमा स्थानीय बासिन्दाहरुले भने संविधान र सरकारमा सहभागि भई शान्ती र संविधानको अधुरो काम पुरा गरी देश विकासमा क्रियाशिल हुन एमाओवादीलाई आग्रह गर्दैआएका छन् । 
  Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु