एमाओवादीका समानुपातिक उम्मेदवार हत्या आरोपमा पक्राउ

वीरगञ्ज । साढे ३ वर्षअघि विश्व हिन्दू युवा संघका अध्यक्ष काशिराम तिवारीको हत्याका मुख्य दोषी ठानिएका सियारामप्रसाद कुसवाहलाई प्रहरीले आज पक्राउ गरेको छ । एकीकृत माओवादीको समानुपातिकतर्फका उम्मेदवार समेत रहेका कुसवाहलाई पर्सा प्रहरीले आज चितवनबाट पक्राउ गरेको पर्साका एसपी धिरज सिंहले जानकारी दिए । 
२०६७ साल असार १२ गते वीरगञ्जमा भएको तिवारीको हत्यामा कुसवाह मुख्य दोषी रहेको ठहर प्रहरीले गरेको थियो । तिवारी हत्याको झण्डै डेढ वर्षपछि पर्सा प्रहरीले माओवादी नेता एवं तत्कालीन भूमि सुधारमन्त्री प्रभु साह, साहका स्वकीय सचिव रहेका सियाराम र अमन कुसवाह विरुद्ध अभियोजन पत्र तयार गरेको थियो । 
बाबुराम भट्टराई सरकारका मन्त्री साहले हत्या आरोप लागेपछि मन्त्री पदबाट राजिनामा दिएका थिए । साह विरुद्धको प्रहरीको मुद्दा पर्साको सरकारी वकिलको कार्यालयले फिर्ता गरेपछि प्रभु साहको नाम हटाएर सियाराम र अमन विरुद्ध मात्रै मुद्दा दायर गरिएको थियो भने पर्सा जिल्ला अदालतले उनीहरु दुई विरुद्ध दुइ वर्षअघि नै पैmसला गरिसकेको थियो । 
२०६६ सालमा माओवादीले अनिश्चितकालीन आमहड्ताल आह्वान गरेकोमा वीरगञ्जबाट काशीराम तिवारीको नेतृत्वमा अवज्ञा अभियान सुरु भएको थियो । माओवादी आमहड्ताल असफल भएको केही समयपछि तिवारीको गोली हत्या गरिएको थियो ।
IMAGECHANNEL