परिवारबाटै गर्भवती महिलाको हत्या प्रयास

– जितेन्द्र खड्गा                
सप्तरीको लोहजारा गाविस २ की २० वर्षीया मञ्जुदेवी मण्डल(यादव)लाई परिवारकै सदस्यहरुले विष खुवाएर हत्या प्रयास गरेको छ । श्रीमान नरहेको अवस्थामा जेठाजु रमानन्द यादवसहितकाले बुधबार राति मञ्जुमाथि कुटपिट गर्दै विष खुवाएर हत्या प्रयास गरेको हो ।
कुटाई र विष खाएर सिकिस्त भएकी मञ्जुदेवीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते मञ्जु आठ महिनाकी गर्भवतीसमेत छिन् ।
तीन वर्षअघि मञ्जु र रमानन्दका भाई महानन्द घरबाट भागेर भारतको पन्जाबमा प्रेम विवाह गरेका थिए । दुईवर्षसम्म भारतको पंजाबमै बसोवास गरेका दुवै जनालाई पहिलो सन्तान प्राप्त भएपछि विगत एकवर्षदेखि सप्तरीको महुलीमा भाँडाको घरमा बस्दै आएका थिए ।
तर, विगत तीन महिनादेखि श्रीमान महानन्दको अतोपतो नरहेको र आफू प्रसुती हुने अवस्थामा पुगेकाले सहयोगकालागि बुधबार लोहजारस्थित ससुराली घर पुग्दा आफूमाथि यस्तो घटना भएको मञ्जुले बताइन् ।
‘आठ महिनाको गर्भ भएपछि कुनै पनि बेला बेथा लाग्नेसक्ने भएकाले बुधबार डेढ वर्षीया जेठी छोरीसहित ससुराली गएँ’, अस्पतालमा उपचार गराईरहेकी मञ्जुले बिहीबार भनिन्, ‘तर, घर जाने बित्तिकै जेठाजु रमानन्दले आफूमाथि बञ्चरोले कुट्नुभयो, पछि उहाँसहितकाले जर्बजस्ती विष घोलेर पिलाउन थाल्नुभयो ।’
आफु रुदै गरेको सुनेर पुगेका छिमेकीहरुले जसोतसो जोगाएको र खबर सुनेर आएकी आमाले उपचार गराउन अस्पताल ल्याएको उनले गुनासो गरिन् । कुटपिटबाट उनको शरीरको विभिन्न भागमा चोटसमेत लागेको छ । यसअघि पनि मञ्जुलाई ससुरा सितारामले कुटपिट गरेको उनको भनाइ छ ।
यता अस्पताल उपचार गराईरहेकी मञ्जुलाई उपचार गराउन आर्थिक समस्यासमेत भएको छ । ‘बिहे गरेर भित्र्याउने श्रीमानकै अतोपतो नभएपछि आफूहरुमाथि बज्रपात नै भएको छ’, रुदै अस्पतालको शैय्याबाट उनले भनिन् ।
सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव निरीक्षक श्यामसिंह चौधरीले मञ्जुदेवीमाथि कुटपिट भएको जानकारी दिएका छन् । ‘उहाँमाथि जेठाजुले नै कुटपिट गरेको जानकारी हामीले प्राप्त गरेका छौं’, प्रहरी नायव निरीक्षक चौधरीले भने, ‘तर, विष खुवाएको सम्बन्धी यकिन हुन सकेको छैन, अनुसन्धान जारी रहेकाले तत्कालै विष खुवाएको भन्न सकिने अवस्था रहेको छैन ।’
यसैबीच मञ्जुलाई कुटपिट र विष खुवाउने आरोप लागेका उनका जेठाजु रमानन्द भने अहिले फरार रहेको छ । प्रहरीले बुधबार रातिदेखि नै उनको खोजी कार्य गरिरहेको प्रहरी नायव निरीक्षक चौधरीले जानकारी दिए ।