समानुपातिकतर्फ अहिलेसम्म १२ दलले मात्रै सभासद्को नाम सिफारिस गरेका छन् ।
समानुपातिक तर्फ संविधानसभा प्रतिनिधित्व गर्ने ३१ दलमध्ये १२ दलले सभासद् सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता विरबहादुर राईले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले दुई पटक म्याद थप गरेर समानुपातिक तर्फको सभासद् सिफारिस गर्ने समय पुस १० गतेसम्मका लागि तोकेको छ ।
धेरै सिट ल्याएकोमध्ये राप्रपा नेपालले मात्रै समानुपातिक तर्फको सभासद्को नाम बुझाएको छ । राष्ट्रिय जनमोर्चा, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी, नेपा राष्ट्रिय पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट पार्टी, परिवार दललगायत बढीमा ३ सिट ल्याउने दलले मात्रै नाम बुझाएका छन् ।
मुख्य दलले आन्तरिक रुपमै समानुपातिक तर्फको नाम टुंग्याउन सकेका छैनन् । सभासद् सिफारिसको तयारीका लागि कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बसेको छ ।
नेकपा एमालेले मापदण्ड तय गरिसकेको जानकारी दिँदै १० गतेसम्म नाम बुझाउने बताएको छ । संविधानसभामा नजाने बताएको एकीकृत माओवादीले केहीदिनभित्रै आन्तरिक गृहकार्य सुरु गर्ने बताएको छ ।