राजनैतिक परिवर्तन पछि पनि अर्घाखाँचीमा सामाजिक संस्कार र लैङ्गिक विभेद यथावत

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची । मुलुकमा राजनैतिक परिवर्तन भएपनि सामाजिक संस्कार र लैङ्गिक विभेद कायमै रहेको भन्दै एक कार्यक्रमका सहभागि महिलाहरुले महिलामैत्री संविधान निर्माणको लागि समानुपातिक सूचीमा ५० प्रतिशत महिलालाई पठाउन आग्रह गरेका छन् । 
राष्ट्रिय महिला आयोगको आयोजनामा सदरमुकाम सन्धिखर्कमा सम्पन्न महिला अधिकार विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि महिलाहरुले महिला अधिकार कागजमा मात्रै सिसिम भएको बताउँदै , अधिकार प्राप्ति र रक्षाको लागि राज्यले महिला शसक्तिकरणको पक्षमा जोड दिनुपर्ने बताए ।
महिला शसक्तिकरणको लागि विनियोजन गर्नुपर्ने बजेट अन्यकाममा लगाएको प्रति आपत्ति प्रकट गर्दै महिलाहरुले उपयोग गर्ने नाममा लक्षित वर्गको लागि छुट्याइएको रकम सम्बन्धित वर्गको शसक्तिकरणमा लगाउनु पर्नेमा जोड दिए ।विकास निर्माणको काममा महिलाहरुलाई देखाउनको लागि मात्रै उपभोक्ता समितिका राखे पनि निर्णायक ठाउँमा नराखेको महिलाहरुको गुनासो थियो । 
महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालका अध्यक्ष जानका बन्जाडेले उत्पादनको काममा सबैभन्दा बढी खट्ने महिलाको उत्पादित बस्तुमा पहुँच नियन्त्रण हुन नसकेको गुनासो पोख्नु भयो ।अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य विजुला रायमाझीले अनुगमनको पाटो फितलो भएका कारण लक्षित वर्गको लागि छुट्याइएको बजेट कागजमा मात्र सिमिति भएको बताउनु भयो । 
वाल अधिकृत विनाप्यूठानिले घरेलु हिंसा र सामाजिक हिंसाको सिकार बनेका महिलाहरु न्याय नपाउँदा आत्महत्या गर्ने गरेको बताउँदै, महिला हिंसाका मुद्दा १०-१५ दिनमै फैसला गर्ने व्यवस्था मिलाउन राज्यको ध्यानाकर्षण गराउनु भयो ।
अन्तरपार्टी महिला सञ्जालका जिल्ला अध्यक्ष छम कुमारी थापा र सचिव कमला भुसाल भण्डारी ले अझैपनि सम्पत्तिमा महिलाको अधिकार नभएको बताउँदै ,आर्थिक अधिकार नभएका कारण महिलाले अन्याय सहन वाध्यभएको बताउनु भयो । 
कार्यक्रममा सहभागि महिलाहरुले महिलाहरुलाई विज्ञापनमा प्रयोग गरीने साधन बनाएको, ५१ प्रतिशत महिलाको नाममा सिमित टाठाबाठा महिलाहरुले लाभ लिएपनि अधिकांश महिला राज्यको सेवा सुविधाबाट बन्चित भएको, महिला भएकै कारण वालविकास केन्द्रमा काम गर्ने महिलाहरुलाई अन्याय पूर्वक तलव दिएको, बलत्कारबाट जन्मेको बच्चालाई नागरिकता दिन राज्यले इन्कार गरेको लगायतका गुनासा गरेका थिए । 
राष्ट्रिय महिला आयोगका सदस्य धनेश्वरी चौधरीको अध्यक्षता र नेपाल पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, स्थानीय बिकास अधिकारी हेमराज भुसाल, प्रहरी नायव उपरिक्षक हिरा बहादुर पाण्डे , जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाल ,महिला बिकास अधिकृत बेलकुमारी परियार लगायतका बक्ताहरु मन्तब्य राख्दै ,महिला अधिकार र संरक्षणका बिषयमा आवाज उठाउनु भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु