समानुपातिक सभासद् छान्नका लागि नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी आइतबार पनि आन्तरिक छलफलमा जुट्दैछन् ।
कांग्रेसको संसदीय वोर्ड र एकीकृत माओवादीको केन्द्रीय समिति बैठक बस्न लागेको हो । विहान नौ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले समानुपातिक सभासद्को नाम टुंगो लगाउने कांग्रेस सभापति सुशील कोइरालाको निजी सचिवालयले जनाएको छ ।
संसदीय दलले चयन गरेपछि केन्द्रीय कार्यसमिति बैठकले अन्तिम निर्णय गर्ने तयारी छ । सभापति कोइराला र नेता शेरबहादुर देउवा पक्षबीच भागबण्डामा कुरा नमिलेपछि सभासद् चयनमा ढिलाइ भएको छ । त्यस्तै एकीकृत नेकपा माओवादीले आइतबार केन्द्रीय समिति बैठकबाट सभासद् बन्नेहरुको टुंगो लगाउने भएको छ ।
माओवादी कार्यदलले पहिले सभासद्, मन्त्री र सरकारी लाभका पदमा नबसेकालाई सभासद बनाउन सिफारिस गरेपछि त्यसलाई अन्तिम रुप दिन दिउँसो एकबजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बैठक बस्न लागेको हो ।
त्यसअघि माओवादीका शीर्षनेता आन्तरिक छलफलमा जुट्दैछन । एमालेले शनिबार नै निर्वाचन आयोगमा नाम बुझाइसकेको छ ।