समानुपातिक प्रणालीबाट सभासद् चयन हुनेहरुको नामावली बुझाउने आज अन्तिम दिन अपरान्ह सम्म पनि ठूला दलहरु कांग्रेस र एमाओवादीले नाम टुंग्याउन सकेको छैन । निर्वाचन आयोगका अनुसार अपरान्ह १ बजेसम्म तराई मधेस लोकतान्त्रिक पार्टीले मात्रै आफ्नो दलबाट ७ जनाको नाम बुझाएको छ । दोस्रो ठूलो दल एमालेले यसअघि नै नाम बुझाइसकेको छ ।
कांग्रेसमा संसदीय बोर्डको बैठक १ बजेसम्म बस्न सकेको छैन । कांग्रेसमा संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीचको विवाद मिलाउने प्रयास भइरहेको छ । पार्टी कार्यालयमा दुवै पक्ष आ-आफ्नो तर्फबाट अन्तिम सूची तयार पार्न व्यस्त छन् । ११ बजे बोलाइएको केन्द्रीय समितिको बैठक १ बजेलाई सारिएपनि बस्न सकेको छैन ।
एमाओवादी केन्द्रीय समितिले सभासद छान्ने जिम्मा चार जना नेतालाई दिएको छ । चार नेताहरुको बैठक अपरान्ह २ बजे बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोस्टबहादुर बोगटीको बैठकले अन्तिम नामको टुंगो लगाउने छ ।
तमलोपाले समानुपातिक तर्फबाट पाएको ७ सिटमा पठाएको नाम सार्वजनिक भएको छैन । पार्टीले आयोगमा बुझाएपनि सार्वजनिक गरेको छैन भने आयोगले अहिले नै मिडियालाई जानकारी दिन नमिल्ने जनाएको छ । पार्टी स्रोतका अनुसार डा. विजय सिंह, अकवाल अहमद साह, केदारनन्दन चौधरी, रमेश पटेल कुर्मी, इन्दिरा झा, मिरा चौधरी र राजकुमारी गडेरी समानुपातिक सुचीबाट सभासदको सिफारिसमा परेका छन् ।
सूचना : केहि प्राविधिक कारण बस नियमित समाचार प्रकाशनमा आएको अवरोध प्रती क्षमा प्राथी छौ । अब नियमित प्रकाशनका लागि सबै तयारी भएको अवगत गर्दै कुनै पनि प्रकाशन योग्य सामाग्री भए उमाकान्त पाण्डे गाउंले लाई umakantapandey@sandhikharka.com मा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ । प्रमुख सम्पादक – उमाकान्त पाण्डे