संविधानसभा निर्वाचन सम्पन्न भएको डेढ महिनापछिमात्रै संविधानसभाका ५ सय ७५ सदस्यको टुंगो लागेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ बिजयी २ सय ४० सभाषद्को टुंगो चुनावको एक साताभित्रै लागेपनि दलहरुले समानुपातिक सभाषद् चयन गर्न डेढ महिना लगाएका हुन् ।
मधेसी जनअधिकार फोरम, नेपालले संविधानसभा निर्वाचनमा जितेको ८ सिटमा पार्टीले चयन गरेका सभाषद्को नाम आजमात्रै आयोगमा बुझाएपछि संविधानसभाका ५ सय ७५ सभाषद्को टुंगो लागेको हो । अब मन्त्रीपरिषद्ले बाँकी २६ सदस्य चयन गरेपछि ६ सय १ सदस्य रहने संविधानसभाले पूर्णता पाउनेछ ।
संविधानसभा निर्वाचनबाट संविधानसभामा जाने ५ सय ७५ सभाषद्को टुंगो लागे लगत्तै निर्वाचन आयोगले आजै राष्ट्रपति रामवरण यादवलाई निर्वाचन नतिजा प्रतिवेदन बुझाएको छ ।
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती र आयुक्तहरुले केहीबेरअघि शितल निवास पुगेर राष्ट्रपति यादवलाई निर्वाचन परिणामको औपचारिक प्रतिवेदन बुझाएका हुन् । संविधानसभा निर्वाचन अध्यादेश २०७० मा आयोगले निर्वाचित उम्मेदवारको नामावली राष्ट्रपतिलाई बुझाई राजपत्रमा समेत प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।
निर्वाचन नतिजा राजपत्रमा भोली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले संविधानसभा निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक बस्ने संवैधानिक व्यवस्था छ ।