रगत चुहाउँदै अपराधीलाई समाते प्रहरीले-हत्यारा समात्ने प्रहरीको बढुवा

– लक्ष्मी साह                 
अंग्रेजी वर्षको पहिलो दिन । खुसियाली मनाउने चलन यहाँ पनि छ । शीतलहर हटेर घाम लागेको दिन बेग्लै चहलपहल थियो । सर्वसाधारण घर बाहिर निस्केर घाम ताप्दै थिए । राजमार्ग र बजार व्यस्त देखिन्थे । इलाका प्रहरी कार्यालय नजिक रहेको जितपुर ३ स्थित निर्माणाधीन घरमा श्रीमति र चार छोराछोरीसहित ४० वर्षीय अफताब आलम कुर्सीमा बसेर घाम ताप्दै थिए । अचानक २ जना भारतीय ‘सुटर’ कालो पल्सर मोटरसाइकलमा नजिक आए ।
मोटरसाइकलमा पछाडि बसेका ३५ वर्षीय रवि पाण्डेले आलमको टाउकोमा गोली प्रहार गरे । जितपुरदेखि वीरगन्ज जाने राजमार्गतर्फ ‘बाइक’ मा हुइँकिए । ३ महिनाअघि त्यही मार्गमा एमाले नेतामाथि गोली प्रहार भएको घटनाले झस्केका सर्वसाधारण तर्सिए । यता घटनास्थलमा भीड बढ्यो । घाइतेलाई उपचारका लागि वीरगन्ज लगियो । उता ‘सुटर’ भाग्ने क्रममा ‘बाइक’ बिगि्रयो । वीरगन्ज १७, पिपराबाट जितपुर आइरहेको ना १९ प७१०९ नम्बरको बाइकमा जाँदै गरेका बटुवालाई दुबैले हतियार तेस्र्याउँदै बाइक खोसे । जोगिन सुरक्षित स्थान तर्फ भाग्न थाले ।
जितपुर बजारमा खटिएका हतियारबनाका ट्राफिक जवान गोविन्द मिश्रले दुवैलाई पछ्याउँदै थिए । ‘सुटर’ भागिरहेको खबर इनर्वा चौकी इन्चार्ज असई मातृका ठाकुरले थाहा पाए । र उनी सहयोगी सिपाही शेख सहब्जानलाई ‘बाइक ड्राइभ’ गर्न लगाएर हतियारसहित पछाडि बसेर पछ्याउन थाले । सुटर घटनास्थलदेखि ८ किमि टाढा फत्तेपुर ५ को पिपरियाको उखुघारीमा पसिसकेका थिए । त्यहाँसम्म् असई ठाकुरले फायर खोलेर पछ्याउँदै थिए । त्यस क्रममा ५ फायर गरे । तर उपलब्धि भएन ।
सुटर नजिक पुग्नै लाग्दा खेतको आलीमा लडे । त्यही मौकामा सुटर पाण्डेले भटाभट फायर गरेकाले ठाकुरको कोख र हातमा ३ राउन्ड र सिपाही सब्जानलाई पाखुरा तथा तिघ्रामा १ राउन्ड गोली लाग्यो । तर असइले दौडेर सुटर पाण्डेको दुवै हातको नाडी समाए र गुहार माग्न थाले । आवाज सुनेर नजिकै गहुँमा पानी लगाउँदै गरेका किसान पुगे र समात्न सहयोग गरे । अर्का सुटर उखुघारीमा छिरिसकेका थिए ।
त्यही बेला अञ्चल प्रहरी प्रमुख सर्वेन्द्र खनालबाट १ घन्टामा पक्राउ नगरे निलम्बन गर्ने चेतावनी मातहत युनिटमा आइरहेको थियो । आदेश आउँदा आउँदै सबैतिरबाट सर्वसाधारणसहित नेपाल र शसस्त्र प्रहरी घेरा हाल्न पुगे । र अर्का सुटर विपिन यादवलाई समाते । उनीहरूसित २२ राउन्ड गोली र २ वटा पेस्तोल थियो । मोटरसाइकल बरामद गरे । प्रहरी ‘सुटर’ लाई सुरक्षित नियन्त्रणमा लिन खोज्दै थिए ।
‘पक्रेको अवस्थाको तस्बिर पत्रकारले खिचिसकेकाले ‘इन्काउन्टर’  गर्न मिलेन’, टोली कमान्डर प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले भने, ‘संयोगले ‘सुटर’ बाँचे ।’ स्थानीय प्रत्यक्षदर्शी फतेपुर, पिपरियाका डन्टी चौधरीले भने, ‘उखुघारी सुनसान थियो, गोली पड्केको आवाजसँगै गुहार मागेको आवाज सुनियो, दौडेर जाँदा सुटरले दनादन दुबै हातले ‘फिल्म स्टाइलले गोली पडकाउँदै थिए र रक्ताम्य भएका असइले पछाडिबाट दुबै नाडी समाएका थिए ।’ खेतमा काम गर्दै सहयोग गर्न पुगेका अर्का प्रत्यक्षदर्शी सुनिल चौधरीले भने, ‘यस्तो घटना पहिला ‘फिल्म’ मा देख्थें । यहाँ भने प्रत्यक्ष नै देख्न पाएँ ।’ असइ घाइते भएपछि पानी आफूले खुवाएको उनले बताए ।
गोली सहेर हत्यारा समात्ने प्रहरीको बढुवा
बारामा ट्रक व्यवसायीलाई गोली हानेर हत्या गर्नेलाई लखेटेर पक्रने दुई प्रहरीलाई बढुवा गरिने भएको
छ । प्रहरी प्रधान कार्यालयले असई मातृका ठाकुरलाई सई र प्रहरी जवान शेष समसादलाई हवल्दारमा बढुवा गर्ने निर्णय गरेको हो । उनीहरूले थ्रीनटथ्री राइफल र एउटा पिस्तोलका भरमा बुधबार दुई भारतीय सार्पसुटरलाई पक्रेका हुन् । बाराका ट्रक व्यवसायी ४० वर्षीय अफताब आलम अन्सारीको दुई भारतीय अपराधीले गोली हानी हत्या गरेका थिए । लखेटने क्रममा आक्रमणकारीले उनीहरूलाई गोली हानेर घाइतेसमेत बनाएका थिए । 
आलम भारतीय प्रहरीको सूचीमा
वीरगन्ज – भारतीय ‘सार्प सुटर’ द्वारा बुधबार गोली हानी हत्या गरिएका बारा, जीतपुरका अफ्ताब आलमको नक्कली भारतीय रुपैयाँ ओसारपसारमा संलग्नता रहेको भन्दै भारतीय प्रहरीले विशेष निगरानी राख्न ६ महिना अगाडि पत्राचार गरेको थियो । भारत विहारको पटनामा मुख्यालय रहेको भारतीय सीमा सुरक्षा बलका ऐरिया इन्चार्ज नवीन कुमारद्वारा हस्ताक्षरित पत्रमा आलमसहित १० जनाको नाम किटान गरिएको छ । त्यसमा आलमको नाम ८ नम्बरमा छ ।
पर्सा प्रहरीलाई प्राप्त ‘गोप्य पत्र’ मा कांग्रेसका जिल्ला सदस्यको नामसमेत उल्लेख छ । भारतीय प्रहरीले दिएको नामावलीमा अधिकांश अवैध भारु ओसारपसारमा संलग्न रहेको अनुसन्धान अधिकृत बताउँछन् । भारतीय अर्थतन्त्रलाई धराशयी बनाएको भन्दै नेपाल प्रहरीलाई उल्लिखित व्यक्तिको गतिविधिमाथि कडा निगरानी राख्न पत्र आएको नाम उल्लेख नगर्ने शर्तमा एक सुरक्षा अधिकृतले बताए । ‘पत्र आएको ६ महिना नबित्दै आलमको हत्या भयो’, ती अधिकृतले भने, ‘यस विषयमा थप बोल्नु अनावश्यक छ ।’ भारतीय प्रहरीले पठाएको नामावलीमध्ये ३ जना अहिले भारु ओसारपसारमा पक्राउ परी कारगारमा छन् ।