सर्वोच्च तथा मातहतका अदालत आइतबारदेखि बिहान ९ बजेदेखि नै खुला हुने भएका छन्। सर्वोच्चका सबै शाखा एक घन्टा चाँडैदेखि खुला राख्न सर्वोच्च अदालतले परिपत्र गरिसकेको छ।
अदालतका प्रवक्ता श्रीकान्त पौडेलले भत्ता खाने र काम नगर्ने प्रवृत्ति अन्त्य गर्न ९ बजेदेखि नै सबै तहका न्यायालय खुला गर्न लागिएको बताएका छन्। यसबाट आन्तरिक कामकारबाही चुस्त हुने, फैसला तयार पार्नेदेखि सबै आन्तरिक काम कारबाही सहज हुने र सेवाग्राहीलाई पनि सजिलो हुने उनले बताए।
सम्बद्ध कर्मचारीले आफूले सम्पादन गरेको कामका आधारमा बढीमा ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता लिन पाउने भएका छन्। यो निर्णयपछि अब न्यायालय कात्तिक १६ देखि माघ १५ सम्म सात घन्टा र अन्य समयमा आठ घन्टा खुला हुनेछ। रासस