– अमृता अनमोल
एमाले सचिव विष्णु पौडेलले समान हैसियत र सहभागिता भएमात्र एमाले सरकारमा जाने बताएका छन् ।
प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले थोरै मतले मात्र एमाले दोस्रो पार्टी बनेकाले कांग्रेस दाता र एमाले मगन्ते हुने हिसावले सरकारमा नजाने दाबी गरे ।
नेता पौडेलले समान सहभागिता र सम्मानपूर्ण स्थान नभए सरकारमा जानु साटो एमाले प्रतिपक्षमै बस्ने मनस्थितिमा रहेको बताए । नेता पौडेलले ठूलो दलका हिसावले कांग्रेसले सरकारमा एमालेको हैसियत के हुने, सरकारले कस्तो नीति कार्यक्रम अवलम्बन गर्ने र संविधानलाई कसरी सहजीकरण गर्ने भन्ने प्रस्ताव ल्याउँछ त्यसका एमाले सरकारमा जाने नजाने टुंगो लगाउने जनाए ।
नेता पौडेलले यो संविधान सभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनिवार्य नयाँ निर्वाचन गराउनुपर्ने बताए । उनले पहिलो संविधान सभा भंग भएर दोस्रो संविधान सभाको चुनाव भैसकेकाले राष्ट्रपति र उपराष्ट्रपतिको समयावधी पनि स्वतः सकिएकाले चुनावको विकल्प नभएको तर्क गरे ।
‘संविधानको मर्म र लोकतन्त्रको धर्म बचाउन पनि राष्ट्रपतिको नया निर्वाचन हुनुपर्छ,’ सचिव पौडेलले भने ‘समय सकिएर संविधानसभा भंग हुने तर राष्ट्रपतिको समयअवधि नसकिने त्यस्तो कुरा विधिसम्मत छैन ।’
राष्ट्रपति रामवरण यादव व्यक्तिका हिसावले उचित भएपनि विधिका हिसावले अब राष्ट्रपतिमा हुनु उचित नहुने उनले बताए । अर्को एक प्रसंगमा नेता पौडेलले संविधान सभाको बैठक कसले बोलाउने भन्नेबारेमा अदालतकै आदेश पर्खनु उचित हुने बताए ।