‘नेताहरुमा दोहोरो चरित्रको राष्ट्रवाद’ – पृथ्वीनारायण शाह सम्झँदै भावुक भए संस्कृति मन्त्री

संस्कृति मन्त्री रामकुमार श्रेष्ठले दलका अधिकांश नेताहरुमा दोहोरो चरित्रको राष्ट्रवाद देखिएको र त्यसले राष्ट्रियतालाई झन कमजोर बनाएको आरोप लगाएका छन् ।
कोहीप्रति उग्र विरोध वा नारावाजी गर्नु राष्ट्रवाद नभएको उल्लेख गर्दै श्रेष्ठले यसअघि दलका नेताहरुले राष्ट्रिय स्वार्थलाई मध्यनजर गरी काम गर्न नसकेको समेत बताए ।
‘राष्ट्रियताका लागि उग्र विरोध गर्नुपर्छ । आन्दोलन वा नाराबाजी गर्नुपर्छ म भन्दिन’, सामान्य नागरिकका रुपमा आफूले बोल्दा राष्ट्रियता प्रदर्शन गर्न सबै चुकेको औंल्याउदै श्रेष्ठले भने-‘राजनीतिज्ञहरुले यसअघि के के गर्नुभयो ? त्यसले हाम्रो राष्ट्रियतालाई कहाँ पुर्‍यायो ? यसतर्फ गम्भीर हुनैपर्छ ।
राष्ट्रिय एकता दिवस एवं २९२ औं पृथ्वी जयन्ती मूल नागरिक समारोह समितिले शनिवार आयोजना गरेको अन्तक्रिर्यामा मन्त्री श्रेष्ठले दलका नेतामात्र नभै नागरिक अगुवा, कर्मचारीलगायतको भूमिकाप्रति पनि प्रश्न उठाएका थिए ।
‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक कार्यक्रममा उनीभन्दा पहिले कांग्रेसका डा.शेखर कोइराला, एमालेका रघुजी पन्त, एमाओवादीका हेमन्त प्रकास ओली, माओवादीका कुलप्रसाद केसीलगायतले राष्ट्रियताका विविध आयाममा बोलेका थिए ।
गणतन्त्र घोषणापछि मनाउन छाडिएको राष्ट्रिय एकता दिवस पुन मनाउनका लागि अहिलेको सरकारले आवश्यक निर्णय गर्नुपर्ने सुझाव नेताहरुबाट आएपछि मन्त्री श्रेष्ठ निकै्कड्किएका थिए ।
‘राष्ट्रिय एकता दिवस मनाउन दलहरुकै सरकारले रोकेको हो । त्यतिबेला किन नमनाउने निर्णय गरियो ? हिजो आफ्नै सरकार हुँदा किन दिवस मनाउने भन्ने अडानमा बस्न सक्नुभएन ?’, भावुक शैलीमा श्रेष्ठले भने । मन्त्री श्रेष्ठले राष्ट्रियताको रक्षामा पृथ्वीनारायण शाहको ठूलो योगदान रहेको भन्दै उनको शालिक तोड्ने कामलाई गलत भनी आलोचना गरे ।