विवादको चुली :’६५-७० वर्षसम्म र दुई कार्यकाल भन्दा बढी नेतृत्व गर्न हुँदैन’-‘नेतृत्व असफल भयो’ – एमाओवादी नेता

एमाओवादी नेता देवेन्द्र पौडेलले पार्टीको नेतृत्व र नीति असफल भएकोले अब नेतृत्व परिवर्तन गर्नु पर्ने बताएका छन् ।
नेतृत्व र नीति सफल हुँदासम्म मात्र कायम रहने भन्दै नेता पौडेलले संविधानसभाको निर्वाचनको परिणामले नेतृत्वलाई असफल देखाएकोले अब पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा औपचारिक रुपमै प्रवेश गरेको बताए ।
‘आगामी केन्द्रीय समितिको बैठकमा नेतृत्व परिवर्तनको मुद्दामा बहस हुन्छ,’ पौडेलले रिपोर्टर्स क्लवमा भने, ‘अब नयाँ पुस्ता नेतृत्वको लागि तयार हुनु पर्छ । पुरानो नेतृत्व लामो समय सम्म बसिरहने प्रथाले नयाँको प्रतिभा र क्षमता अघि बढ्न सक्दैन ।’
उनले महाधिवेशनमै ६५-७० वर्ष सम्म र दुई कार्यकाल भन्दा बढी नेतृत्व गर्न नहुने आवाज उठेर समिति नै गठन भएको जानकारी दिँदै अब त्यसको औचित्य पुष्टि भएको जिकिर गरे ।
पौडेले समानुपातिक तर्फको सभासद चयन प्रक्रियामा संस्थागत निर्णय नमिलेको भन्दै यसका बाबजुद पनि पार्टी भने फुट्न नदिने स्पष्ट पारे । उनले भने, ‘पार्टी फुट्ने र फुटाउने अधिकार कसैलाई छैन । अहिलेको मतभेदलाई ब्यवस्थापन गर्नु पर्‍यो नभए नेतृत्व युवा पुस्तालाई दिएर छाड्नु पर्छ ।’
पार्टीभित्र त्याग, निष्ठा र आर्दश हराएर गुट, पद, पैसा, अवसरबाद, उपयोगिताबाद र गुटवाद हावी भएको भन्दै यसले सबै दलहरु जनताको नजरमा गिर्न थालेको भन्दै पौडेलले नेतृत्वले फराकिलो भएर यसलाई सच्याउन नसके मुलुक दुर्घटनामा फस्ने चेतावनी दिए ।
संविधानसभाको बैठक ढिला नगरी तत्काल बोलाउनु पर्ने जिकिर गर्दै उनले संविधान अस्पष्ट रहेकोले दलहरुको सहमतिको आधारमा संविधानसभाको बैठक आब्हान गर्नु पर्ने बताए । उनले ठूलो दलको रुपमा कांग्रेसले पहिलाको सहमति  अनुसार जिम्मेवार र उदार भएर एक वर्षभित्र संविधान जारी गर्ने गरी अघि बढ्नु पर्ने सुझाव समेत दिए ।