नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सबै दललाई समेटेर सहमतिको सरकार बनाउने बताउनुभएको छ ।
आइतबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसंगको भेटमा सभापति कोइरालाले बाहिर प्रचार भएजस्तो एमालेलाई छोडेर सरकार बनाउन नखोजेको भन्दै सबैलाई समेट्ने प्रयास भइरहेको बताउनुभएको हो ।
भेटमा संविधानसभाको बैठक बोलाउने, सरकार गठन लगायत विषयमा पनि छलफल भएको छ । भेटमा नेता नेपालले ठुलो पार्टीका रुपमा सरकार गठन लगायतको खाका तयार गर्न आग्रह गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
संविधानसभाको बैठक लगत्तै सरकार गठन गर्ने र एक बर्षभित्र संविधान जारी गर्न दुई नेता सहमत भएका छन् । यसअघि कांग्रेस सभापति सुशील कोइरालासँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडेले भेटेर संविधानसभा चुनावपछिको राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुभएको थियो ।