अबको केन्द्रीय समिति बैठक ‘टर्निङ प्वाइन्ट’ – प्रचन्डले गरे व्यग्यं :बाबुरामजीले बरु भएको पद पनि त्याग्नुहुन्छ, खोज्नु हुन्न

– गंगा बीसी                
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले केन्द्रीय समितिमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव नमान्नेहरू ‘छुट्ने’ बताएका छन् । नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले राजनीति प्रस्ताव चित्तबुझ्दो नभए छुट्टै प्रस्ताव ल्याउने बताइरहेकै बेला उनले सांकेतिक जवाफ दिएका हुन् ।
दाहालले आफ्नो निवास लाजिम्पाटमा मंगलबार केही पत्रकारसँग संक्षिप्त कुरा गर्दै आफ्नो राजनीतिक प्रस्तावमा व्यापक कार्यक्रम आउने जनाए । ‘डकुमेन्ट मात्र आउँदैन, कार्ययोजना र कार्यक्रम पनि आउँछ र त्योअनुसार जाने कि नजाने भन्ने प्रश्न आउँछ । जाने अघि बढ्छन् । नजाने छुट्छन् । यो गम्भीर प्रकृतिको हुन्छ,’ उनले भने, ‘अब सीधै जनतासँग जोडिने, संगठन सुदृढ गर्ने कार्ययोजना र कार्यक्रम आउँछ । पार्टी पुनर्गठन गर्ने नयाँ कार्यक्रम आउँछ ।’
उनले अबको केन्द्रीय समिति बैठक ‘टर्निङ प्वाइन्ट’ हुने उल्लेख गर्दै आफूलगायत अन्य नेताले कठोर आत्मसमीक्षा गर्ने बताए । ‘सबभन्दा ठूलो कुरा राजनीतिक विचारधाराको लाइनको कुरा हो । सिद्धान्तको पालनाको कुरा हो । पालना गर्ने संकल्प गर्ने कुरा नै हो । यो पटकको बैठक ठूलो टर्निङ प्वाइन्ट हुनेछ । प्रमुख नेतृत्वदेखि सबैले कठोर आत्मसमीक्षा गर्नुपर्ने हुन्छ,’ उनले भट्टराईतर्फ संकेत गर्दै भने, ‘जनवादको कुरा गर्दा अराजक ढंगले र केन्द्रीयताको कुरा गर्दा बढी नोकरशाहीको तरिकाले जाने दुइटै खतरा देखिएको छ । जनवादी केन्द्रीयताको नाममा जे मन लाग्यो, त्यही बोल्दै हिँड्ने र केन्द्रीयताको नाममा नोकरशाही केन्द्रीयता लाद्ने दुइटै खतरा उत्पन्न हुन्छ ।’ उनले यसलाई समाधान गर्न केन्द्रीय समितिले ठोस विधि बनाएर जाने बताए ।
‘सबै साथीहरूले आत्मसमीक्षा गरेर आफूलाई बदल्ने कुरा पनि आउँछ । त्यसरी जान्छन् भन्ने विश्वासका साथ प्रस्ताव तयार गर्दैछौं,’ उनले भने । उनले भट्टराईले उठाएको पार्टी लोकतान्त्रीकरणको प्रश्न जायज भएको उल्लेख गरे । उनले ‘बाबुरामजीले बरु भएको पद पनि त्याग्नुहुन्छ, खोज्नु हुन्न’ भन्दै भट्टराईलाई व्यंग्यसमेत गरे । ‘पार्टीको लोकतान्त्रीकरण गर्ने भन्ने बाबुरामजीको कुरा राम्रो हो,’ उनले भने, ‘उहाँले पद खोज्नुभयो भन्ने कुरा होइन ।’
एमाओवादीभित्रको विवाद सञ्चारमाध्यममा आएजस्तो आफूलाई महसुस नभएको उनको भनाइ थियो । ‘पार्टीभित्रको कुरा मिडियामा आएजस्तो महसुस गर्दिनँ । निर्वाचनमा पार्टीको तुलनात्मक रूपमा पराजय भएपछि हामी गम्भीर समीक्षाको प्रक्रियामा छौं । कहाँ कमी भयो । बाह्य के कारणले काम गर्‍यो । आन्तरिक कारणले कति काम गर्‍यो,’ उनले भने, ‘पार्टी अस्तव्यस्त भएको छ । पार्टी पुनर्निर्माण गर्ने सम्बन्धमा गम्भीर समीक्षा चलेको छ । तर नेतृत्व तहमा बाहिर आएजस्तो विवाद छैन ।’
उनले केही नेताहरूले अलि बढी बोलेको आफूले सञ्चारमाध्यमबाट थाहा पाए पनि उनीहरूसँग राम्रै कुराकानी भएको जनाए । ‘साथीहरूले अलि बढी बोलेको भनेर मिडियामा आएको सुनेको छु । साथीहरूसँग कुराकानी भइरहेको छ । कुराकानी नमिठो पनि छैन,’ उनले भने, ‘समानुपातिकको सूची मिलाउने कुरामा अलि-अलि मतभेद हो । लास्टमा समानुपातिक सूची तयार गर्ने बेला मैले कार्यालयको बैठक बोलाउने कुरा थियो । मैले कार्यालयको बैठक बोलाएँ पनि । तर साथीहरू तपाईंले नै गर्नुस् भनेर जिम्मा दिएको जस्तो भन्ने कि ? तपाईंले जे-जे गर्नुस् भन्नुभयो । त्यसपछि मैले आफ्नो विवेकले जे-जे देखंे त्यही गरेर पठाएँ । त्यसले अलिकति तरंग ल्यायो ।’ उनले विवाद केन्द्रीय समिति बैठकले समाधान गर्ने बताए ।