‘एमाले-एमाओवादी राष्ट्रपति फेर्ने पक्षमा थिएनन्’ – मिनेन्द्र रिजाल – वकिलले जटिल बनाएः पोखरेल

– शेखर अधिकारी                
कांग्रेस नेता मिनेन्द्र रिजालले संविधानका बाधा अड्काउ फुकाउनुअघि एमाले र एमाओवादी राष्ट्रपति फेर्ने पक्षमा नरहेको दाबी गरेका छन् ।
चुनावअघि राष्ट्रपति फेर्ने पक्षमा नरहेका एमाले र एमाओवादीका नेताहरु अहिले राष्ट्रपतिको चुनाव हुनुपर्छ भन्ने अडानमा रहनुले आश्चार्यचकित बनाएको उनले बताए ।
‘संविधानसका बाधा अड्काउ फुकाउन चार दलीय कार्यदलमा रहेका एमाले र एमाओवादीका नेताहरुले राष्ट्रपति फेर्न नहुने पक्षमा हुनुहुथ्यो,’ राजधानीमा बुधबार प्रेस चौतारीको अन्तर्क्रियामा उनले भने, ‘त्यतिबेला कांग्रेसलाई उछिनेर राष्ट्रपति फेर्न नहुने पक्षमा रहेका एमाले र एमाओवादीले अहिले बोली फेर्नुभएको छ ।’
कार्यदलमा एमालेका भीम रावल, रघुजी पन्त र अग्नि खरेल थिए भने एमाओवादीका कृष्णबहादुर महरा र खिमलाल देवकोटा थिए ।
रिजालले आफ्नो दल राष्ट्रपतिलाई प्रधानमन्त्री पदसँग साट्ने पक्षमा नरहेको बताए । ‘राष्ट्रपतिलाई प्रधानमन्त्रीसँग साट्ने पक्षमा हामी छैनौं,’ उनले भने, ‘कसैलाई चित्त बुझ्दैन, तितो लाग्छ भने लागोस्, आफ्नो बाटो लागे हुन्छ ।’
रिजालले संविधान जारी नभएसम्म कांग्रेस-एमाले सरकारमा सहभागी हुनुपर्ने उल्लेख गर्दै संविधान बनेपछि भने दुई पार्टीमध्ये एउटा प्रतिपक्षमा बस्नुपर्ने बताए । संविधान निर्माणको स्वभाविक प्रतिपक्ष राप्रपा नेपाल भएको उल्लेख गर्दै उनले त्यहि दललाई प्रतिपक्षमा राख्नुपर्ने बताए ।
रिजालले संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्ने विवादको फैसला सर्वोच्च अदालतले पुस २९ गते नै गर्ने विश्वास व्यक्त गर्दै माघ १० गतेसम्ममा संविधानसभाको बैठक बस्ने बताए ।
संविधानसभाको निर्वाचन सम्पन्न गरेर मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले ऐतिहासिक कार्य पूरा गरेको भन्दै रिजालले पहिलो बैठक बोलाउन नपाउँदा आफ्नो देन घट्ने सम्झन नहुने बताए ।
एमाले सचिव शंकर पोखरेलले संविधानसभाको पहिलो बैठक बोलाउने विषयलाई कानुन व्यवसायीहरुले जटिल बनाएको आरोप लगाए ।
‘जसले बोलाए पनि केही फरक पर्नेवाला थिएन,’ उनले भने, ‘तर वकिल साथीहरुले जटिल बनाइदिनुभयो । अदालतमा मुद्दा हाल्ने उहाँहरुको अधिकार त हो, तर बहसको विषय बनाउनुहुँदैनथ्यो ।’
संविधानमा लेखिएअनुसार सरकार प्रमुखले पहिलो बैठक बोलाउने भए पनि असल परम्परा सुरु गर्ने भए राष्ट्रपतिले बोलाउँदा पनि फरक नपर्ने उनले बताए ।
सचिव पोखरेलले राष्ट्रपति रामवरण यादवको भूमिकालाई एमाले प्रशंसा गरे पनि विधिलाई स्थापित गर्न नयाँ राष्ट्रपतिको चुनाव हुनुपर्ने बताए ।
‘व्यक्तिको हिसावले संक्रमणकालमा रामवरण यादवले निभाएको भूमिकाको एमाले सधैँ प्रशंसा गर्दछ,’ उनले भने, ‘तर व्यक्ति राम्रो, नराम्रो भन्दा पनि विधि स्थापित गर्नुपर्छ, जनादेशअनुसार नयाँ राष्ट्रपति आउनैपर्छ ।’
पोखरेलले कांग्रेस स्पष्ट खाकासहित सरकारको नेतृत्व गर्न आए आफूहरु सहभागी हुने स्पष्ट पारे ।
एमाओवादी नेता टोपबहादुर रायमाझीले पार्टीभित्रको विवादले संविधान निर्माण प्रक्रिया अप्ठ्यारो पर्नेतर्फ सचेत गराए । उनले सरकारमा आफ्नो पार्टीको चासो नरहेको उल्लेख गर्दै संविधान निर्माणमा सहयोगी भूमिका खेल्ने बताए ।