नेपाली औषधिले पायो अमेरिकी पुरस्कार

नवजात शिशुको नाइटोमा हुने संक्रमण रोक्न नेपालले विकास गरेको जिवाणुनाशक औषधिले अमेरिकी सहयोग नियोगको विज्ञान तथा प्रविधि पुरस्कार पाएको छ ।
क्लोरहेक्सिडाइन डाइग्लुकोनेट सिएचएक्स मल्हमको अनुसन्धानले प्रभावकारी नतिजा निकालेको ठहर गर्दै प्रविधिका लागि युएसएडको विज्ञान तथा प्रविधि नव सिर्जना पुरस्कार प्रदान गरिएको हो ।
यो मल्हम नेपालको औषधि निर्माता कम्पनी लोमस फर्म्यसुटिकल्सले उत्पादन गरेको हो । युएसएडले हरेक वर्ष विकासका चुनौतीलाई विज्ञान, प्रविधि तथा नव प्रवर्तनको प्रयोग गरी समाधान गर्ने उत्कृष्ट प्रविधिलाई सम्मान गर्दै आएको छ । शिशुमा नाइटोको संक्रमण रोक्न प्रयोग हुने किटनाशक मल्हम सिएचएक्सको प्रयोगबाट नेपालमा नवजात शिशुमृत्युदर ३४ प्रतिशतले घटेको छ ।
यो मल्हम प्रभावकारी हुनुका साथै सस्तो पनि छ । राष्ट्रिय स्वास्थ्य इन्ष्टिच्युट र विल तथा मेलिन्डा गेट्स प्रतिष्ठानसँगको सहकार्यमा युएसएडले सिएच एक्सलाई पहिले झोलका रुपमा र पछि जेलका रुपमा परीक्षण गरेको थियो । यो मल्हमलाई एकपटक मात्र नवजात शिशुको नालमा लगाउँदा संक्रमणको खतरा निकै कम हुने गरेको पाइएको छ ।
किटनाशक जेल यो वर्षको अन्त्यसम्म नेपालका अधिकांश जिल्लामा पुर्‍याउने लक्ष्य छ । यसको प्रयोगले नवजात शिशुको मृत्युदर घटाएर राखिएको लक्ष्य सजिलै हाँसिल गर्न सकिने अपेक्षा गरिएको छ ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा १ सय जना नवजात शिशुमध्ये ३ जनाले नाइटोको संक्रमणका कारण २८ दिनभित्र ज्यान गुमाउने गरेका थिए । यो मल्हम नाइजेरियाले पनि परीक्षण गर्ने योजना बनाएको छ ।