काठमाडौं – एमाओवादी नेता बाबुराम भट्टराईले एक बर्षसम्म कुनै पदमा नबस्ने घोषणा गरेका छन् । भट्टराईले एक बर्षभित्र संविधान जारी गर्ने काममा केन्द्रित हुने भन्दै यस्तो घोषणा गरेका हुन् ।
‘संविधान जारी नभएसम्म संसदीय दलको नेता वा अन्य कुनै पनि पदमा बस्दिनँ,’ भट्टराईलाई उद्धृत गर्दै स्वकीय सचिव विश्वदीप पाण्डेले भने ,’पार्टीभित्र र बाहिर पनि लोकतान्त्रिक विधि बसाल्न पहल गर्छु ।’
भट्टराईले लोकतान्त्रिक संविधान जारी गर्न सबै पार्टीका लोकतान्त्रिक शक्तिसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो पार्टी र बाहिर पनि लोकतान्त्रिक विधि बसाल्न पहल गर्ने बताए ।
भट्टराईले यसअघि नै आफू कुनै पार्टीमा नबस्ने भन्दै एमाओवादी उपाध्यक्षबाट राजीनामा गरेका थिए । केही दिनअघि उनले मात्रै पार्टीको नेतृत्वमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव फेसबुकमार्फत् गरेका थिए ।
पद प्राप्तिका लागि यस्तो प्रस्ताव गरेको भन्दै भट्टराई पार्टीभित्रै आलोचित बनेका थिए ।
– ekantipur