काठमाडौं – जनक शिक्षा सामग्री केन्द्रका केही कर्मचारी काम छाडेर व्यक्तिगत माग पुरा गराउन बिहीबारदेखि आन्दोलनमा उत्रिएका छन । केन्द्रको व्यवस्थापनले जिम्मेवारी पुरा नगर्ने र अनुशासन विपरित काम गर्ने पाँच कर्मचारीलाई गत मंसिर २६ गते निष्काशन गरेको थियो । निस्काशित कर्मचारीलाई पुर्नबाहली गर्नु भन्दै बिहीबारदेखि केन्द्रको मुल गेटमा दैनिक धर्ना दिएर बिरोध गरिरहेका छन ।
निष्काशन हुनेमा सुमन खडका, राजेश बानिया, कञ्चन सिजापति, प्रकाश थापामगर र प्रकाश दर्जी छन् । उनीहरु प्रेस विभागमा कार्यरत अस्थायी ज्यालादारी कर्मचारी हुन । पुस्तक छपाइ गरेर शैक्षिक सत्र हुनुअघि नै विद्यार्थीको हातमा बेलैमा पुर्याउन भन्दा पनि आफनो स्वार्थ पुरा गर्न लागि परेका हुन । उनीहरुले शुक्रबार बिहान काम गर्न जान लागेका कर्मचारीलाई पनि रोक्ने प्रयास गरेका थिए ।
बैकको ऋण तिर्न नसकेर टाठ पल्टिन लागेको केन्द्रलाई कर्मचारीको आन्दोलनले थप धरासयी बनाएको छ । सरकारले कर्मचारी तलब र कागज किन्न असोजदेखि यता २० करोड ऋण दिइसकेको छ । आवश्यक थप रकम उपलब्ध गराउने प्रतिबद्धता समेत जनाइसकेको छ । तर, कर्मचारीको आन्दोलनले संस्थाको छवि थप बिगारेकोले थप रकम नदिन पनि सक्ने सम्भावन हुन्छ ।
तलब खुवाउन नसक्ने गरी घाटामा गएको केन्द्रमा स्थायी गर्नुपर्ने र तलब भत्ता बढाउनु पर्ने माग राखेर अस्थायी ज्यालादारी कर्मचारीले दशै अघिदेखि काम गर्न छाडेका थिए । केन्द्रका अनुसार अस्थायी ज्यालादारी २६ जनाले काम नगरी हाजिर मात्रै गरेपछि व्यवस्थापनले पटक पटक सूचना प्रकाशित गरी चेतावनी दिएको थियो । व्यवस्थापनले काम नगर्ने कर्मचारीको हाजिरमा रातो लगाएपछि थप बिरोधमा उत्रिएका थिए । हाजिर गयल गरेको भन्दै ति कर्मचारीले प्रेस विभागका प्रमुख सुजन नेपालको कार्यकक्षमा राखिएको टेबलको सिसा तोडफोड र हातपात समेत गरेको भन्दै केन्द्रले घटनामा संलग्न पाँच जनालाई निष्काशन गरेको हो ।
बिरोधमा उत्रिएकाको माग सुनुवाई गर्न केन्द्रले विनियम संसोधन गर्न शिक्षा मन्त्रालय पठाएको थियो । कर्मचारीले भने अान्तरिक बढुवा र स्थायीको विज्ञापन नगरेसम्म काममा नर्फकने धम्की दिएका थिए । ‘काममा र्फकन पटक पटक लिखित र मौखिक जानकारी समेत गराएका थियौ,’ केन्द्रका महाप्रवन्धक अनिल झाले भने, ‘अटेरी गरेपछि काम नगर्नेको हाजिर गयल गर्यौ । त्यसको बिरोधमा तोडफोड र हातपात गर्नेलाई निष्काशन गरिएको हो ।’
हातपात गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर एक रात थुनामा समेत राखेको थियो । केन्द्रले पाँच जनालाई कारबाही गरेपछि बिरोधमा उत्रिएका अन्य २१ जना भने नियमित काममा फर्केका थिए । अनुशासन विपरीत काम गर्नेलाई कारबाही गरेकाले दबाब दिदैमा पुर्नबाहली गर्न नसकिने झाले बताए । ‘जतिसुकै बिरोध गरेपनि पुर्नबाहली हुने सम्भावना छैन,’ उनले भने, ‘बिरोधे कार्यक्रम रोकेर काममा र्फकन आग्रह गर्दछु । विनियम संसोधन गरेर बढुवा र स्थायी प्रक्रिया चाडै अघि बढनेछ ।’
माग पुरा नभएसम्म बिरोधको कार्यक्रमलाई यथावत राख्ने कारबाहीमा परेका खडकाले बताए । आन्दोलनको नेतृत्व पनि उनले लिएका छन । ‘हाम्रो कारबाही फिर्ता हुनु पर्यो,’उनले भने,’माग पुरा नभए बिरोधको स्वरुप अझ सशक्त बनाउछौ ।’ व्यवस्थापनले आफनो माग पुरा गर्न चासो नदिएको उनको आरोप छ । EKANTIPUR