काठमाडौं, माघ ५ । राजधानीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नौं दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागको सुनुवाई नभएपछि देशभरका स्वास्थ्य संस्थाहरुमा काम ठप्प भएको छ । देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका छन् । आमरण अनशनरत डा. केसीको स्वास्थ्य स्थिति विग्रिएर अत्यन्तै गम्भीर बनेको छ ।
सरकारी हस्तक्षेपविरुद्ध केसीले उठाएको मागमा समर्थन जनाउँदै नेपाल चिकित्सक संघको अगुवाईमा देशभरको अस्पतालमा आजबाट आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको हो । यस्तोमा स्वास्थ्य क्षेत्रमा सरकार र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले गरेको अतीराजनीतिकरणको शिकार भने निरीह नेपाली नागरिकले हुनुपर्ने अवस्था देखिएको छ ।
माग पूरा गरी डा. केसीको जीवन रक्षा गर्न अपील गर्दै समाजका विभिन्न क्षेत्रमा व्यक्तित्वहरुले सरकारी संस्थानहरुमा भैरहेको अती राजनीतिकरण तत्काल रोक्न आह्वान गरेका छन् । टिचिङ अस्पतालमा सरकारले गरेको बारम्बारको हस्तक्षेपविरुद्ध डा. केसीको यो तेस्रो आमरण अनशन हो ।
डा. केसीको सत्याग्रहमा समर्थन जनाउन अहिले टिचिङ अस्पतालमा सर्वसाधारणहरु पुग्न थालेका छन् । डा. केसी र आफूहरुले उठाएका मागको सम्बोधन नगरिए देशभरको स्वास्थ्य सेवा अनिश्चित समयका लागि बन्द गरिने चेतावनी चिकित्सक संघले दिएको छ । IMAGECHANNELS