डाक्टरहरु आज पनि आन्दोलनमा – बिरामी मृत्‍युको मुखमा -समस्या समाधानका लागि त्रिवि कार्यकारी परिषदको बैठक बस्दै

चिकित्साशास्त्र अध्ययन संस्थानमा उत्पन्न समस्याले देशभरको अस्पतालमा उपचार सेवा प्रभावित भएपछि त्रिभुवन विश्वविद्यालय सोमबार आन्तरिक छलफलमा जुट्दैछ ।
कार्यकारी परिषदको बैठक बसेर समस्या समाधानको लागि पहल गरिने विश्वविद्यालयका उपकूलपति डा. हिराबहादुर महर्जनले बताउनुभयो ।
सरकारले समस्या समाधानको लागि निर्देशन दिए लगत्तै आफूहरु गम्भिर भएको उहाँको भनाई छ । संस्थानको बिभागीय प्रमुख (डिन) नियुक्तिमा पुनर्विचार गर्नुपर्ने विषयमा ऐन, नियमले मिल्नेसम्म आफूहरुले गर्न सक्ने उहाँले बताउनुभयो ।
शिक्षामन्त्री विश्वविद्यालयका सहकुलपति माधवप्रसाद पौडेलले संस्थानको डिन नियुक्तिको निर्णय पुनर्विचार गर्न विश्वविद्यालयलाई आइतबार निर्देशन दिनुभएको थियो । शिक्षण अस्पतालमा आमरण अनसन बसेका डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै देशभरका डाक्टरहरु आइतबारदेखि आन्दोलित भएका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा विरामी मर्कामा परेका छन् । डाक्टरहरुले आकस्मिक र जटिल प्रकारका बिरामीको उपचार सेवा भने नरोक्ने बताएका छन् ।
ओपिडी सेवा बन्द भएपनि आफूहरुले आकस्मिक कक्षमै बसेर बिरामीको उपचार गर्ने संघका महासचिव डा. मुक्ति श्रेष्ठले बताउनुभयो । नयाँ डिन नियुक्तिको बिरोध र संस्थानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न माग गर्दै डा. केसीले सोमबार १० औं दिन पनि आमरण अनसनलाई निरन्तरता दिनुभएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।