काठमाडौ, माघ ८ – त्रिभूवन विश्वविद्यालय कार्यकारी परिषद् बैठकले चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. शशि शर्मालाई बर्खास्त गरेको छ ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको निर्देशनमा शर्मालाई बर्खास्त गरिएको हो । रेग्मीले शर्माको नियुक्ति निष्त्रिmय पार्न त्रिभूवन विश्वविद्यालयलाई मंगलबार नै निर्देशन दिएका थिए ।
डिन शर्मालाई ‘माघ ८ गतेदेखि हटाइएको’ जानकारीसहितको पत्र लिएर बुधबार साँझ विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनका स्वकीय सचिव बालुवाटार गएका थिए । EKANTIPUR
काठमाडौ, माघ ८ – मन्त्रिपरिषद् अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका कुलपति खिलराज रेग्मीले चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन डा. शशि शर्मालाई २४ घन्टाभित्र हटाउन मंगलबार त्रिवि कार्यकारी परिषद्लाई लिखित निर्देशन दिएका छन् ।
रेग्मीले कुलपतिको हैसियतले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति खतरामा पर्न लागेको र देशभरका अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको संवेदनशील स्थितिलाई ध्यान दिई शर्मालाई नियुक्ति गर्ने निर्णय निष्त्रिmय पार्न उपकुलपति हीराबहादुर महर्जनलाई पत्र पठाई परिषद्लाई यस्तो निर्देशन दिएका हुन् ।
मन्त्रिपरिषद्का अध्यक्ष एवं कुलपति रेग्मीले २४ घन्टाभित्र हटाउन निर्देशन दिए पनि त्रिवि उपकुलपति एवं कार्यकारी परिषद्का अध्यक्ष महर्जनले डिन नियुक्ति निर्णयको फिर्ता लिन परिषद्को बैठक सोमबार रातिसम्म बोलाएका छैनन् । परिषद् बैठक बुधबार बस्ने महर्जन निकट स्रोतले जनायो ।
रेग्मीले मंगलबार साँझ केसीलाई भेटी आफूले कुलपतिको हैसियतले त्रिवि कार्यकारी परिषद्लाई शर्मालाई हटाउन निर्देशन दिइसकेको जानकारी गराउँदै अनशन तोड्न आग्रह गरे । रेग्मीले डा. केसीलाई आग्रह गर्दै भने, ‘त्रिवि ऐनअनुसार अन्तिम उपाय अवलम्बन गरी डिन शर्मालाई हटाउन मैले कार्यकारी परिषद्लाई निर्देशन दिइसकेको छु, परिषद्ले शर्मालाई हटाउनेमा म विश्वस्त छु । अब तपाईंले अनशन तोड्नुहोस् ।’
केसीले भने कार्यकारी परिषद्ले शर्मालाई हटाउनेमा अझै आशंका रहेको र हटाए पनि अघिल्ला डिन प्रकाश सायमीको राजीनामा अस्वीकृत गर्ने या वरिष्ठतम चिकित्सकलाई नियुक्त गर्ने निर्णय नभएसम्म अनशन जारी राख्ने जवाफ दिएका थिए । केसी ११ दिनदेखि आमरण अनशनमा छन् ।
त्रिवि ऐन २०४९ को दफा १६ को उपदफा (३) ले कुलपतिले विश्वविद्यालयसँग सम्बन्धित जुनसुकै विषय वा वस्तुको निरीक्षण गर्न एवं निर्देशन दिन सक्ने कानुनी व्यवस्थालाई टेकेर मन्त्रिपरिषद् अध्यक्ष एवं कुलपतिले शर्मालाई हटाउन निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सहकुलपति एवं शिक्षामन्त्री माधव पौडेलले शर्माको नियुक्तिको निर्णय पुनर्विचार गर्न दिएको निर्देशन त्रिवि कार्यकारी परिषद्ले अटेर गरेपछि कुलपति एवं मन्त्रिपरिषद्का अध्यक्षले नै हटाउने निर्देशन दिनुपरेको जानकारी प्रधानमन्त्री कार्यालयका अधिकारीले दिएका छन् ।
पूर्वाधारबिनाका प्रस्तावित मेडिकल कलेजहरूलाई सम्बन्धन दिने उद्देश्यले शर्मालाई डिनमा नियुक्त शर्मालाई हटाउनुपर्नेलगायत माग राखी केसीले सुरु गरेको अनशनको समर्थनमा देशभरका चिकित्सक आन्दोलनमा उत्रिएपछि मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले बाध्य भएर हटाउने निर्देशन दिएको स्रोतले जनायो ।
‘अहिलेको असाधारण परिस्थितिमा उपयुक्त निर्णय नलिने हो भने डा. केसीको जीवन खतरामा पर्न सक्ने अवस्थालाई दृष्टिगत गरी चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा शर्मालाई नियुक्त गर्ने विश्वविद्यालयबाट भएको निर्णयलाई निष्क्रिय गरी निर्णय कार्यान्वयन नगर्न/नगराउन र २४ घन्टाभित्र सोको जानकारी आफूलाई गराउन कुलपति एवं मन्त्रिपरिषद्का अध्यक्षबाट मंगलबारै त्रिविका उपकुलपतिलाई लेखिपठाइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
केसीको माग सम्बोधन गरी उनको जीवनरक्षाका लागि आफूले डिन नियुक्तिको निर्णय पुनर्विचार गर्न आइतबार कार्यकारी परिषद्लाई निर्देशन दिएकामा हालसम्म कार्यान्वयन नभएकाले आवश्यक निर्णय गर्न शिक्षामन्त्री एवं सहकुलपति पौडेलले प्रधानमन्त्री कार्यालयलाई प्रतिवेदन दिएपछि मन्त्रिपरिषद्का अध्यक्ष एवं कुलपति रेग्मीले हटाउने निर्देशन दिनुपरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
रेग्मीले सम्बद्ध सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आन्दोलन फिर्ता लिई स्वास्थ्य सेवा सुचारु गर्न र स्वास्थ्य सेवा प्राप्त गर्ने आम नागरिकहरूको हकको सम्मान गर्नसमेत अपिल गरेका छन् । केसीले उठाएका जायज मागबारे वार्ताबाट सम्बोधन गर्न सकिने उल्लेख गर्दै त्यसका लागि सरकार सदैव तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ । EKANTIPUR