काठमाडौ – कांग्रेस सभापति सुशिल कोइराला पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । आज संसदीय दलको कार्यालयमा भएको मतदानमा उनले एकसय ५ मत प्राप्त गरेका हुन् । उनको प्रतिस्पर्धी नेता शेरबहादुर देउवाले ८९ मत पाए ।
कांग्रेसका एकसय ९४ जना सभासद्ले निर्वाचनमा मत खसालेका थिए । उपसभापति रामचन्द्र पौडेलको समर्थन पाएका कोइरालालाई ठूलो दलको हैसियतमा आफ्नो नेतृतवको सरकार गठन गर्ने बाटो खुलेको छ ।
कोइराला आज हुने संसद्को पहिलो वैठकमा कांग्रेसका संसदीय दलका नेताको रुपमा सहभागी हुनेछन् । निर्वाचित भएलगत्तै कोइरालाले लोकतान्त्रिक प्रक्रिया भएकाले हारजित सामान्य भएको प्रतिक्रिया दिए । ‘सबैलाई मिलाएर अघि बढ्नेछु’, उनले भने ।
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट एकसय ९६ सिट पाएको कांग्रेससँग तत्काल एकसय ९४ सभासद् छन् । सभापति कोइराला र नेता देउवा दुई स्थानबाट विजयी भएकोमा उनीहरुलाई एक उम्मेदवार गणना गरिएको हो ।
सभापति कोइराला र नेता देउवा दुवैले संसदीय दलको नेता बन्ने ईच्छा देखाएपनि कांग्रेस निर्वाचनमा गएको हो । नेता देउवाले सभापति कोइराला संसदीय दलको नेता बन्ने भए आफूले कार्यवाहक सभापति पाउनुपर्ने माग राखेका थिए । कांग्रेस विधान अनुसार उपसभापति हुँदाहुँदै अन्यलाई कार्यवाहक सभापति दिन नमिल्ने भन्दै आएका सभापति कोइरालालाई अन्तिममा उपसभापति पौडेलले साथ दिएका हुन् ।
कोइरालाले भने बिमोजिम उनलाई एक बर्षको लागि सरकारको नेतृत्वगर्न दिन उपसभापति पौडेल सहमत भएका हुन् । कोइराला र देउवाबीच सहमति गराउन शनिबार अबेरसम्म प्रयास भएपनि कुरा मिलेको थिएन । EKANTIPUR