काठमाडौ, माघ १३ – कांग्रेस सभापति तथा संसदीय दलका नेता सुशिल कोइरालालाई सरकार गठनमा सघाउन एमाले सकारात्मक देखिएको छ ।
आज दुई पार्टीबीच भएको छलफलमा कांग्रेसले एमालेलाई सहमतिको लागि प्रस्ताव राखेको थियो ।
आइतबार राष्ट्रपति रामवरण यादवले दलहरुलाई सहमतीय सरकार गठनका लागि आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वान लगत्तै सबैभन्दा ठूलो दल कांग्रेसले सरकार गठनको लागि पहल थालेको हो ।
एमाले नेता भीम रावलले वैठकमा कांग्रेसको प्रस्तावप्रति आफ्नो पार्टी सकारात्मक भएको प्रतिक्रिया दिए । ‘उहाँहरुलाई सरकार गठनको लागि पूरा प्रस्ताव ल्याउन भन्यौं’, रावलले भने,’आजको कुराकानी सकारात्मक छ ।’
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि एमालेले सहमत भएको बताए । ‘हामीले हाम्रा दलको नेतालाई सघाउन प्रस्ताव गर्यौं’, वैठकपछि सिंहले भने,’उहाँहरुले समर्थन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।’
आजको व्यबस्थापिका संसद्को दोस्रो वैठकलगत्तै बसेको दुई पार्टीको छलफलले ६ महिना भित्र स्थानीय निकायको निर्वाचन र एक बर्षभित्र संबिधान जारी गर्ने गरी अघि बढ्ने निश्कर्ष निकालेको सिंहले बताए । ‘६ महिना भित्र स्थानीय निकायको निर्वाचन गर्न दुवै दल सहमत भएका छन्’, सिंहले भने,’एक बर्ष भित्र संबिधान जारी गर्ने पनि सहमति भएका छ ।’
एमालेले यसअघि उपयुक्त भूमिका पाए मात्रै सरकारमा जाने नत्र प्रतिपक्षमा बस्ने बताउँदै आएको थियो ।
राष्ट्रपति यादवले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई माघ १९ गतेसम्ममा सहमतीय सरकार गठनका लागि आह्वान गरेका हुन् ।
हिजो भएको कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति कोइराला संसदीय दलका नेता चुनिएका हुन् । EKANTIPUR