सिरियाको होम्स सहरमा हतियारधारीको घेरामा रहेका सयौंको उद्धार गरिने

सिरिया समस्या समाधानका लागि स्वीट्रल्याण्डको जेनेभामा जारी बैठकमा सिरियाको होम्स सहरमा फसेका सयौं महिला तथा बालबालिकालाई सुरक्षित रुपमा बाहिर निकाल्न दिने सहमति भएको छ । हतियारधारीको घेरामा परी बिचल्लीमा परेका नागरिकलाई सुरक्षित स्थानमा जान दिन सिरियाली सरकार सहमत भएको हो ।
संयुक्त राष्ट्रसंघका बिशेष दूत लख्तर ब्राहिमीले यस निर्णयले होम्स सहरका नागरिकको उद्धार हुने अपेक्षा गरे । सिरियाली उपविदेशमन्त्री फैसदल मेकदादले शहरमा रहेका हतियारधारी सुरक्षाकर्मीलाई हट्न आदेश दिएको जानकारी दिएका थिए ।
विद्रोही समूहले भने सिरियाका विभिन्न कारागारमा रहेका बन्दीहरुलाई रिहा गर्न माग गरेको छ । सम्मेलनका सहभागिहरु पूर्ण शान्ति सम्झौता हुनेमा आशावादी नभए पनि सामान्य सहमति बन्नेमा भने विश्वस्त छन् ।
तीन वर्षदेखि गृहयुद्धमा फसेको सिरियालाई बचाउन राष्ट्रसंघको पहलमा स्वीजरल्याण्डमा शान्ति सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा अमेरिका, रुससहित ४० भन्दा बढी मुलुकका विदेशमन्त्री सहभागी छन् ।
सिरियामा सन् २०११ मा शुरु भएको संघर्षका कारण एक लाखभन्दा बढी मानिस मारिइसकेका छन् भने ९५ लाखभन्दा बढी पलायन भएका छन् । (एजेन्सी)