पूर्व प्रधानन्यायाधीश एवं २०४७ सालका संविधानका मस्यौदाकार विश्वनाथ उपाध्यायको निधन

काठमाडौं, माघ १७ । पूर्व प्रधानन्यायाधीश एवं २०४७ सालका संविधानका मस्यौदाकार विश्वनाथ उपाध्यायको गएराति निधन भएको छ । मस्तिष्कमा रगत जमेपछि उपचारका लागि राजधानीको न्यूरो अस्पतालमा भर्ना गरिएका उपाध्यायलाई शल्यक्रियापछि भेन्टिलेटरमा राखिए पनि उपचार सफल हुन सकेन ।
उपाध्यायप्रति श्रद्धाञ्जलि व्यक्त गर्न मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, विभिन्न दलका नेता र कानुनविदहरु न्यूरो अस्पताल पुगेका थिए । मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दे यसबाट न्याय क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।
त्यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि न्यायपालिका क्षेत्रका विज्ञ उपाध्यायको निधन अपूरणीय रहेको बताए ।
तात्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विघटन गरेको संसदलाई आफ्नो इजलासबाट ब्युँताएर उपाध्यायले निकै चर्चा कमाएका थिए । उपाध्यायका पार्थिव शरीर अहिले उनकै निवास ज्ञानेश्वरमा राखिएको छ ।
पूर्व प्रधानन्यायाधीश उपाध्यायको निधन (भिडियोसहित)
उपाध्यायका चार छोरा मध्ये दुई जना देश बाहिर रहेकाले उनीहरु स्वदेश फर्केपछि मात्रै अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । IMAGECHANNELS