एमाले अध्यक्ष झलनाथ खनाललाई हराउँदै नेता केपी शर्मा ओली संसदीय दलको नेता निर्वाचित

काठमाडौं, माघ २१ – एमाले अध्यक्ष झलनाथ खनाललाई २३ मतले हराउँदै नेता केपी शर्मा ओली संसदीय दलको नेता निर्वाचित भएका छन् ।
एमाले संसदीय इतिहासमा पहिलोपटक निर्वाचनबाट पार्टी प्रमुखलाई हराउँदै तेस्रो बरियताका ओली मंगलबार दलको नेता निर्वाचित भएका हुन् । ओलीले ९८ मत पाउँदा खनालले ७५ मत पाए ।
खनाल समूहमा रहेका उपाध्यक्ष वामदेव गौतमको बलियो साथ पाएपछि ओलीलाई दलको नेता निर्वाचित हुन सहज भएको हो । ओलीलाई गौतमसहित अर्का उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिवद्वय शंकर पोखरेल र विष्णु पौडेलको पनि साथ थियो ।
एमाले संसदीय दल, निर्वाचन समितिका प्रमुख आयुक्त सोमनाथ अधिकारी प्यासीले ओलीलाई सपथ खुवाए ।
निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै पार्टी नेता कार्यकर्ता तथा सभासदलाई सम्बोधन गर्दै अध्यक्ष खनाल र ओलीले मिलेर अघि बढ्ने प्रतिबद्धता जनाए । ओली बोल्नुअघि संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष खनालले बधाई दिएका थिए ।
नवनिर्वाचित संसदीय दलका नेता ओलीले अध्यक्ष खनाल र आफू मिलेर संविधानसभामा पार्टीको भूमिका प्रभावकारी बनाउने बताए । उनले आफूहरुले चुनावसम्मका लागि लोकतान्त्रिक अभ्यास गरेको बताउँदै सौहार्दपूर्ण सम्बन्धमा तलमाथि हुन नदिने प्रतिबद्धता जनाए ।
‘पार्टी र संसदीय दललाई एकताबद्ध र प्रभावकारी बनाएर लैजान्छौं,’ ओलीले भने, ‘राष्ट्रिय राजनीतिमा एमालेको भूमिकामा कमी आउन दिने छैनौं, प्रयासहरु मिलेर हुनेछन् ।’
ओलीले चुनावको परिणामपछि पक्ष र विपक्षमा मतदान गर्नेहरुलाई आग्रह/पूर्वाग्रह नराखिने बताए । ‘पक्षमा र विपक्षमा मतदान दिएवापत आग्रह पूर्वाग्रह राखिनेछैन,’ उनले भने, ‘मतदान सिद्धियो, परिणाम आयो, फेरि हामी एकठाउँमा छौं ।’
बधाई दिंदै अध्यक्ष खनालले ओलीको विजय एमाले, लोकतन्त्र र नेपाली जनताको विजय भएको प्रतिक्रिया दिए । ‘हामीले लोकतान्त्रिक अभ्यास गरेका थियौं,’ उनले भने, ‘पार्टी अझै समृद्ध र सुदृढ भएर अघि बढ्छ ।’
खनालले पनि आफू र ओली मिलेर काम गर्ने प्रतिबद्धता जनाए । त्यसो भनिरहँदा सिंहदरवारस्थित संसदीय दलको कार्यालय परिसरमा उभिएका सभासद् तथा पार्टी नेता कार्यकर्ताले लामो समयसम्म ताली बजाए ।
‘म पार्टी अध्यक्ष र दलका नेता केपी कमरेड मिलेर काम गर्छौं, मिलेर देशलाई अघि बढाउँछौं, संविधान निर्माण गर्न मिलिमिली काम गर्छौं,’ उनले भने, ‘पार्टीलाई पनि र देशलाई पनि नेतृत्व गर्छौं ।’
सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ४ बजेदेखि विद्युतीय प्रणालीबाट मतदान भएको हो ।
खनालको प्रस्तावक बरिष्ठ नेता माधवकुमार नेपाल र समर्थक नेतृ अष्टलक्ष्मी शाक्य थिइन् । ओलीको प्रस्तावक उपाध्यक्ष वामदेव गौतम र समर्थक सचिव विष्णु पौडेल थिए ।
संसदीय दलको कार्यालयमा ओलीपक्षीय गैरसभासद् नेताको उपस्थिति बाक्लो थियो ।
अध्यक्ष खनाल र नेता ओलीले दाबी नछाडेपछि एमालेमा पहिलोपटक मतदानबाट संसदीय दलको नेता चुनिएको हो ।
एमालेमा पार्टी प्रमुखका हैसियतले २०४८ र ०५१ मा तत्कालिन अध्यक्ष मनमोहन अधिकारी, २०५६ र ०६३ -पुनःस्थापित प्रतिनिधिसभा)मा तत्कालिन महासचिव माधवकुमार नेपाल तथा २०६४ सालमा तत्कालिन कार्यवाहक महासचिव झलनाथ खनालले दलको नेतृत्व गरेका थिए ।
दलको नेतामा सहमति जुटाउन पटक पटक भएका छलफल सहमतिमा नपुगेपछि स्थिति चुनावतर्फ धकेलिएको हो । केन्द्रीय कमिटीको सोमबारको बैठकका नेताहरुले सहमति गर्न दबाब दिए पनि नेताहरुले अडान छाडेनन् ।
मतदानअघि मंगलबार पनि उपाध्यक्ष गौतमको भैंसेपाटीस्थित निवासमा शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
बैठकमा खनाल, ओलीसहित बरिष्ठ नेता नेपाल, महासचिव ईश्वर पोखरेल, सचिवद्वय शंकर पोखरेल र विष्णु पौडेल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भूसाललगायत थिए ।
भैंसेपाटीबाट नेताहरु सोझै पार्टी मुख्यालय बल्खु गए । केन्द्रीय कमिटीबाट चुनावमा जाने निर्णय अनुमोदन गराएलगत्तै नेताहरु सिंहदरवारस्थित दलको कार्यालयमा पुगेका थिए ।  EKANTIPUR